सिन्धुपाल्चोक - ईन्द्रावती गाउँपालिका–५ को समन्वय तथा सहकार्यमा रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोक लगायतका संस्थाको आयोजनामा जनसुधार आधारभूत विद्यालयमा वृहत् निःशुल्क आँखा उपचार, जाँच तथा औषधि वितरण शिविर भएको छ।
शिविरमा ज्येष्ठ नागरिक, बालबालिका, महिला, युवायुवती, शिक्षक–शिक्षिका तथा विद्यार्थी गरी ३ सयभन्दा बढीको आँखाजाँच गरिएको छ। शिविरको उद्घाटन ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गरेका थिए।
आँखा परीक्षणका क्रममा आधा दर्जनभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ। पहिचान भएका बिरामीको बनेपास्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने ईन्द्रावती गाउँपालिका–५ का वडाध्यक्ष शशिनाथ आचार्यले जानकारी दिए।
वडाध्यक्ष आचार्यका अनुसार खराब मौसम र भौगोलिक कठिनाइका बाबजुद शिविरमा स्वदेशी तथा विदेशी आँखा रोग विशेषज्ञ र चिकित्सक टोलीको उल्लेखनीय सहभागिता रहेको थियो। शिविर सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने, सूचना सम्प्रेषण गर्ने तथा वडा र गाउँपालिकासँग समन्वय गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
समय अभाव, खराब मौसम तथा पहाडी भौगोलिक अवस्थाका कारण लौरो टेक्दै सेवा लिन आएका केही ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिलाई सेवा दिन नसकिएकोमा वडाध्यक्ष आचार्यले क्षमायाचन गरेका छन् ।

