काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खनालले नेपालले छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको बताए ।
उनले भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन आफूले हालै दुवै देशको औपचारिक भ्रमण गरेको जानकारी गराए । उनले ५ देखि ७ जुन २०२६ सम्म भारत र १४ देखि १७ जुन २०२६ सम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरेको बताए ।
‘नेपालले छिमेकी एवं मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राख्दै आएको छ । द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरूको महत्वपूर्ण भूमिका रहन्छ । यसै क्रममा मैंले ५ देखि ७ जुन २०२६ सम्म मित्रराष्ट्र भारतको र १४ देखि १७ जुन २०२६ सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेको विषयमा यस सम्मानित सदनलाई जानकारी गराइसकेको छु,’ उनले भने ।
भारतको औपचारिक भ्रमणको क्रममा उनको अभिव्यक्तिमा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ (पुरानो बोझ) सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक रहको पनि बताए ।
मन्त्री खनालले ‘ब्यागेज’ शब्दले विगतमा देखिएको नकारात्मक बोझ वा अवरोधलाई जनाउने भन्दै आफ्नो अभिव्यक्ति आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणबाट मुक्त हुने सन्दर्भमा रहेको स्पष्ट पारे ।
उनले भने, ‘सर्वप्रथम त ‘ओल्ड ब्यागेज’को स्पष्ट अर्थ र प्रयोग भएको सन्दर्भ उल्लेख गर्न चाहन्छु । ’ब्यागेज’ शब्दले स्वाभाविक रूपमा नकारात्मक बोझ वा विगतको अवरोध (नेगेटिभ कनोटिसन) लाई जनाउँछ । उक्त भनाइको सन्दर्भ र तात्पर्य विगतमा देखिने गरेको आन्तरिक राजनीतिक ध्रुवीकरण (इन्टरनल पोलिटिकल पोलराइजेसन) तथा परराष्ट्र नीति र कूटनीतिको सङ्कीर्ण राजनीतिक अस्त्रीकरण (परोक्यल पोलिटिकल विपनाइजेसन अफ फरेन पोलिसी एन्ड डिप्लोमेसी) बाट मुक्त हुनु हो।’
तर ‘ओल्ड ब्यागेज’ अभिव्यक्तिलाई राज्यको विरासत वा राज्य र सरकार निरन्तर उत्तराधिकारी संस्था हुने स्थापित राजनीतिक मान्यताविपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने उनले बताए ।
उनका अनुसार छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ–हानिको औजार बनाउने विगतको अभ्यास नै ‘पुरानो बोझ’ हो ।
मन्त्री खनालले आफ्नो अभिव्यक्ति नेपालको इतिहास, राष्ट्रिय विरासत, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा ऐतिहासिक दस्तावेजको संरक्षणप्रति लक्षित नभएको पनि स्पष्ट पारे ।
उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा तथा त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसद्को सर्वसम्मत निर्णय र नेपाली जनताको साझा राष्ट्रिय सङ्कल्प भएको बताए ।
वर्तमान सरकारले कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासमा नअल्झी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई अघि बढाउन चाहेको पनि उनले बताए ।

