Harsamaya
विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापा ।

काठमाडौं - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् ।

सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’

विज्ञप्तिमा नेपाली काँग्रेस कुनै एक नेताको चाहनाले नभई आम सदस्यको चाहनाले चल्ने पार्टी भएको दाबी गरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टी आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको जनाइएको छ।

‘पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली काँग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीभित्र गुट अन्त्य भइसकेको उल्लेख गर्दै अब गुटगत भागबन्डा नहुने पनि विज्ञप्ति मार्फत भनिएको छ। सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update