काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १४औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको चतुर्दशौँ अध्यायमा पार्वतीले व्रत पूर्ण गरी यसको महिमा संसारभर फैलोस् भनी महादेवसँग प्रार्थना गरेपछि अश्वत्थामा ऋषिलाई पाताललोकमा व्रत प्रचार गर्न पठाइएको वर्णन छ । यसै क्रममा शिवले पार्वतीको धैर्य र बुद्धिमत्ता जाँच गर्न किरातको रूप धारण गर्दा पार्वतीले पनि किरातिनी रूप लिएर शिवको परीक्षा लिन्छिन् ।
अन्ततः शिवले आफ्नो वास्तविक स्वरूप प्रकट गरी पार्वतीको अटल निष्ठाबाट प्रसन्न हुनुहुन्छ। पार्वतीले किरातेश्वर शिवलिङ्गको तपस्या गर्ने स्थान गौरीघाटको महिमा स्थापित हुन्छ। पछि शिव–पार्वती हिमालयको घरबाट बिदा भई कैलास पर्वत प्रवेश गर्छन् । यस अध्यायले पार्वतीको विवेक, भक्ति र शिव–पार्वतीको दिव्य मिलन तथा कैलास प्रवेशको प्रसंगलाई उजागर गर्दछ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १४औँ दिन चतुर्दशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ चतुर्दशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि पार्वतीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुन समेत- 'हे स्वामी ! अब मेरो तपस्या पूर्ण भयो । बालक कालदेखि हजुरलाई पति पाऊँ भनी धाइरहेकी थिएँ, बल्ल इच्छा पूर्ण भयो' भनी महादेवका हातमा प्रसाद दिई साष्टांग प्रणाम गरिन् र 'हे आदि- पुरुष ! श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ । म अझ अरू केही बिन्ती गर्दछु- यो संसारमा कोही दरिद्र छन्, कोही दुःखी छन्, कोही पापी छन्, कसैका स्त्री छैनन्, कसैका पुरुष छैनन् । अतः यो प्रकाश गरिदिन पाए त्यस्ता सबैको कल्याण हुनेछ ।' यति पार्वतीले भनेको सुनी महादेव आज्ञा गर्नुहुन्छ- 'हे प्रिये ! तिमी धन्य रहिछौ । संसारका दुःखी दरिद्रीप्रति तिम्रो मनमा यस्तो दया रहेछ अब यसको उपाय सुन पहिले अश्वत्थामा ऋषिलाई डाक्न पठाई उनलाई रसातल पातालमा पठाऊ । त्यहाँ उनले यो व्रत प्रकाश गरिदिनेछन् ।' यति महादेवले आज्ञा गरेपछि पार्वतीले अश्वत्थामा ऋषिलाई डाक्न पठाइन् र उनी आएपछि शिव- पार्वतीलाई प्रणाम गरेर- हे भवानीशंकर ! मलाई के कामले डाक्नुभयो ? भनी सोधे । अनि पार्वती आज्ञा गर्दछिन् - हे अश्वत्थामा ! तिमी रसातल पातालमा जाऊ र त्यहाँ जो दुःखी छन्, जो दरिद्र छन्, जो पापी छन्, जसका स्त्री छैनन् र जसका सन्तान छैनन्, तिनलाई यस्तो विधिले व्रत गराऊ भनी आफूलाई विष्णुले उपदेश गरे- झैं सारा व्रत विधि बताइन् र पाताल जाने बिदा दिइन् । पार्वतीको आज्ञा सुनी अश्वत्थामा ऋषिले शिव-पार्वतीलाई प्रणाम गरी रसातल पातालमा गए ।
हे अगस्त्य मुनि ! त्यसपछि एकदिन महादेवले यी पार्वती कत्तिकी बाठी रहिछन्, जाँच गर्नुपर्यो भनी आफू कसैले नदेख्ने स्थानमा लुक्न जानुभयो । महादेवलाई नदेखी पार्वती यता उति खोज्दै गइन्, तर कहीं पाउन सकिनन् । अनि चित्त आकुल गरी कता जानुभयो होला भन्दै अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई भेट्टाएर भनिन् - 'हे स्वामी ! हजुर किन मलाई छली लुक्न जानुभयो ? म राम्री भइनँ कि हजुरको मनपरिनँ कि, मलाई किन छाडेर अन्त जानुभयो ?' पार्वतीले त्यसरी भनेको सुनी महादेव केही पनि नबोली मनमनै भन्न लाग्नुभयो- यी पार्वतीले मलाई यसै छाड्ने भइनन् । अब रूप फेरेर अर्कै रूप धारण गरी वन-विहार गर्न जान्छु भन्ने निश्चय गरी अन्तर्धान भएर श्लेष्मान्तक वनमा किरातीको रूप धारण गरी शिकार खेल्दै हिंड्न लागे । पार्वतीले फेरि महादेवलाई देखिनन् र मनमनै दुःख मानी- यसरी महादेवले मलाई किन छल्नुभयो भन्ने शंका गरी ध्यान- दृष्टिले विचार गर्दा महादेव किरातीको रूप धारण गरेर श्लेष्मान्तक वनमा शिकार खेल्दै हिंडेको थाहा पाइन् र महादेवलाई झुक्याउनको लागि अत्यन्त राम्री किरातिनीको रूप धारण गरी अनेक हाउ-भाउ कटाक्षले युक्त भएर श्लेष्मान्तक वनमा पुगी यौटा ठूलो वृक्षको छायामा बसिरहिन् । केही बेरपछि महादेव पनि हुल्दै त्यहीं आउनुभयो र किरातिनी रूप पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको रूपमा मोहित भई सोध्नुभयो- 'हे सुन्दरी ! तिमी को हौ ? देवकन्या हौ कि यक्षकन्या हौ ? नागकन्या हौ कि स्वर्गकी अप्सरा हौ ? मैले देख्दा त तिमी जस्ती सुन्दरी यस संसारमा हुन दुर्लभ छ । एक्लै यस्तो वनमा आएर किन बसिरहेकी ? तिमीलाई डर पनि लाग्दैन कि ? यो भयंकर वनमा जंगली जन्तु बाघ, हात्ती आदिको पनि कत्ति भय नमानी निर्धक्कसितं किन बसेकी छौ ?' यति किरातीरूप महादेवले आज्ञा भएको सुनी पार्वतीले महादेव यिनै हुन् भन्ने चिह्नेर मनमनै दण्डवत् प्रणाम गरिन् । त्यस वेला महादेव कस्तो रूपमा आउनुभएको थियो भने बायाँ हातमा धनुष र दाहिने हातमा त्रिशूल लिएका, काँधमा शर राख्ने ठोक्रो भिरेका, नागका गहना लगाएका, देख्दैमा डरलाग्दो मूर्ति भएका त्यस्ता किरातीरूप महादेवसित पार्वती भन्दछिन् 'हे किरात ! म यहाँ बसेको धेरै दिन भयो, किरातिनी हुनाले वन-जन्तुको डर पनि लाग्दैन। म यहाँ तपस्या गरेर 2 बसेकी छु ।' यस्तै प्रकारले दुवै दम्पतीको परस्पर गर्दागर्दै साँझ पर्यो र किरातीरूप महादेवले २) भन्नुभयो- 'हे सुन्दरी ! तिमी पनि एक्लै रहिछौ, म पनि एक्लै छु । आज हामी दुवै यहीं वास बसौँ ।' महादेवको यस्तो वचन सुनी पार्वती भन्दछिन् - 'हे किरात ! तिमी लोग्नेमानिस, म स्वास्नीमानिस, यस्तो जंगलका बीचमा एक्लै अरूकोही नभएको स्थानमा कसरी एकै ठाउँमा वास बसौँ ? फेरि पुरुष जातिको मनमा धर्म हुँदैन । राम्री स्त्री देखेपछि माता-पिता, घर-द्वार सबै बिर्सन्छन्, तसर्थ एकै ठाउँमा वास नबसौं, यो कुरा नगर ।' यति किरातिनीरूप पार्वतीले भनेको सुनी किरातीरूप महादेवले- 'हे सुन्दरी ! यस कुरामा तिमीले शंका नगर' भन्नुभयो र दुवै स्त्री-पुरुष त्यही वृक्षमनि वास बसे। यही क्रमले बस्ताबस्ता निकै दिन बित्यो र एकदिन पार्वतीले विचार गरिन् - यी भोलानाथ सधैँ यसरी नै बसेर पनि निर्वाह गर्न सक्तछन् । अब केही युक्ति गर्नुपयो भन्ने निश्चय गरी महादेवलाई छलेर आकाशवाणी भए झैं गरेर भन्न लागिन् - 'हे जगदीश्वर ! हजुरले याद नराख्ता हामी ब्रह्मा, विष्णु, इन्द्रादि सबैले साह्रै कष्ट पायौँ । यसै गरी बस्नुभयो भने हाम्रो कल्याण कसरी होला ? कैलास शून्य भएको निकै दिन भइसक्यो । हे वृषभध्वज ! कैलासको चर्चा गरी हाम्रो उद्धार गर्नुहवस् ।' यस्तो आकाशवाणी भएको सुनी- 'यो कसका उपर भनेको होला, फेरि म यहाँ आएको त कसैलाई पनि थाहा छैन' भनेर यता-उता हेर्दा केही पत्ता पाउन नसकी 'देवताहरूले भने होलान्' 'भनी चुप लागेर किरातिनी- रूप पार्वतीलाई नदेखी खोज्न लाग्नुभयो । अनि पार्वती पनि केही थाहा नपाए झैं गरी फल-फूल टिपेर खान लागेकी थिइन् । किरातरूप महादेव त्यहीं पुगेर - 'हे सुन्दरी ! तिमी कता गएकी थियौ ? मैले तिमीलाई खोज्दा कहीं पाउन सकिनँ' भन्नुभयो । अनि पार्वती भन्दछिन् - 'हे किरात ! म कहीं पनि गएकी छैन । भोक लाग्यो र कन्द-मूल खोज्न हिंडेकी हुँ । यसरी कुरा गर्दागर्दै पूर्णचन्द्रभन्दा पनि राम्री पार्वतीलाई देखेर चित्त चञ्चल भई कामले पीड़ा गर्दा महादेवले किरातिनी- रूप पार्वतीलाई समान जाइलागे । त्यो देख्नासाथ किरातिनी- रूप पार्वती भन्न लागिन् - 'हे किरात! तिमी कस्ता रहेछौ ? के तिम्रो धर्म यही हो ?
मैले त श्रीमहादेव- बाहेक अरू कसैलाई स्वामी स्वीकार गर्नेछैन भन्ने प्रतिज्ञा गरेर यस वनमा आई उनैको तपस्या गरेर बसेकी छु । तिमी • त्यसो गर्छौ भने म श्राप दिई आत्महत्या गर्नेछु। यति पार्वतीले भनेको सुनी किरातरूप महादेवले भन्नुभयो- 'हे सुन्दरी ! तिम्रो त्यस्तो प्रतिज्ञा छ भने म उही महादेव हुँ, वन-विहार गर्न मन लागेर यहाँ आएको हुँ, नपत्याए हेर' भनी आफ्नू ज्योतिः स्वरूपको दर्शन दिनुभयो । अनि पार्वतीले मनमा आनन्द मान्दै दण्डवत् प्रणाम गरेर बिन्ती गरिन् - 'हे ईश्वर ! अब मेरा माता - पिताकहाँ कन्यादान लिन हिंड्नुहवस् ।' यति सुनेर 'हुन्छ' भनी किरातिनीरूप पार्वतीका पछि लागेर गए । केही बेरमा हिमालय पर्वतका घर पुगे । अनि महादेवलाई 'यिनी त पार्वती पो रहिछन्' भन्ने ज्ञात भयो र मलाई छली आफ्ना माता-पिताकहाँ ल्याइन्, अब कसो गरुँ ! भनी लाज मानी त्यहाँबाट अन्तर्धान भई किरातेश्वर शिवलिंग भएर श्लेष्मान्तक वनको उत्तरतिर गई बसिरहनुभयो । फेरि महादेवलाई नदेखेर चिन्ताग्रस्त भएकी पार्वतीले ध्यानदृष्टिले हेर्दा किरातेश्वर शिवलिंग भएको थाहा पाई पार्वती पनि नित्य वाग्मतीमा स्नान गरी किरातेश्वर शिवको ध्यान र षोडशोपचारले पूजा गर्दै तपस्या गर्न लागिन् । पार्वतीले स्नान गरेकी हुनाले त्यस स्थानको नाम गौरीघाट भयो । जो १ मनुष्य गौरीघाटमा स्नान गरेर किरातेश्वरको दर्शन गर्ला त्यसका सबै पाप नाश भएर सुख शान्ति भई यस लोकमा अनेक भोग भोगी परलोकमा कैलासवास होला ।
हे मुने ! त्यही क्रमले पार्वतीले कठोर तपस्या गरेको देखी शिवजी प्रसन्न भएर आफ्नू ज्योतिस्वरूपको दर्शन दिए । अनि पार्वतीले अत्यन्त हर्षसाथ शिवका पाउमा दण्डवत् गरी अञ्जली जोरेर बिन्ती गरिन् - 'हे स्वामी ! हजुरले मलाई किन यसरी बारम्बार दुःख दिनुभएको ? म हजुरकी मनपरिनँ कि' भनी अनेक विस्मात गरेको सुनी प्रत्यक्ष भएर पार्वतीलाई अंकमाल गरी काखमा राखेर त्यहाँबाट अन्तर्धान भई हिमालयका घर जानुभयो । त्यसरी छोरी ज्वाइँ घरमा आएको देखेर हिमालयले अत्यन्त आनन्द मान्दै सिंहासनमा राखेर चौरासी व्यंजन तयार पारी भोजन गराए । त्यहाँ दुइ-चार दिन बसेपछि एकदिन महादेवले पार्वतीसित भन्नुभयो- 'हे प्रिये ! कैलास शून्य भएको धेरै दिन भइसक्यो, अब यहाँ बसेर के गर्नु छ ? कैलास जाऔँ हिंड़, तिम्रा माता-पितासित बिदा माँग्न जाऔँ' यति भनी दुवै दम्पती गएर हिमालयसित भन्नुभयो- 'हे पिता ! सतीदेवी मरेदेखि आजसम्म कैलास शून्य छ । अब बिदा पाए कैलास जाने थियौं ।' महादेवले आफूलाई 'हे पिता' भनेर सम्बोधन गरेको सुनेर हिमालय अत्यन्त प्रसन्न भई बिन्ती गर्दछन् - 'हे त्रैलोक्यनाथ ! समस्त अखण्ड ब्रह्माण्डका सकल देवताहरूका पितामह हजुरले अज्ञानीलाई जस्तै मलाई 'हे पिता !' भन्नुभयो । अब मेरो समस्त अज्ञान नाश गरी स्वच्छ ज्ञान प्रदान गर्नुहवस् । सदैव हजुरको भक्तिमा मेरो चित्त लागिरहोस् । हे शशिशेखर ! पहिले पूजा गर्दछु' भनी छोरी-ज्वाइँ दुवैलाई नाना वस्त्रालंकार पहिराई सिंहासनमा बसाली षोडशोपचारले पूजन गरी भोजन गराई अञ्जलि जोरेर स्तुति गर्न लागे-हे भवानी-शंकर ! जस्तै समुद्रका घर लक्ष्मी-नारायण बस्ता समुद्रलाई आनन्द भएथ्यो, त्यस्तै तपाईं दुवै जना मेरो घरमा बसिदिनाले मलाई आनन्द भइरहेको छ । हे ईश्वर ! हजुर कस्ता भने आफ्नू मायाले यो समस्त ब्रह्माण्डमा व्याप्त भएर रहने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार । फेरि समुद्र मथनमा निस्केको कालकूट विषले संसार दग्ध हुन लाग्यो र हजुरले त्यो विष कण्ठमा राखी रक्षा गर्नुभयो र 'नीलकंठ' नाम रह्यो । यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ । हे विश्वम्- भर ! आफूले सृष्टि गरी आफै संहार गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ । हे पर- ब्रह्म ! त्रिपुरासुर दैत्यलाई मार्दा हजुरको रथका अवयवहरू कस्ता थिए भने पृथ्वी नै रथ, चार वेद रथका चार घोडा, चन्द्र-सूर्य रथका पांग्रा, ब्रह्मा सारथि, सुमेरु पर्वत धनु, शेषनाग ताँदो र विष्णु भगवान् बाण गरेर मार्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार छ । हे युगनायक ! ब्रह्मा पनि तपाईं, स्थावर-जंगम पनि तपाईं, यमका यम पनि तपाईं, नारायण पनि तपाईं, सत्त्व रज तम त्रिगुण पनि तपाईं, जीवन र मृत्यु पनि तपाईं, देवताका देवता पनि तपाईं, अनाथका नाथ पनि तपाईं, विश्वरूप पनि तपाईं, अष्टवसु र द्वादशाऽऽदित्य पनि तपाईं, दिक्पाल पनि तपाईं, सम्पूर्ण ब्रह्माण्डका प्राणीको हृदयमा बसी पाप- दुण्यका साक्षी भइरहेका पनि तपाईं । हे शम्भो ! हजुरको महिमा वर्णन गर्न शेषनाग, सरस्वती र ब्रह्माले पनि नसकेको म कसरी सक्नेछु ?' यसरी हिमालय पर्वतले स्तुति गरेको सुनी महादेव प्रसन्न भएर हँसिलो मुख पारी - 'हे गिरिराज ! तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ, सदैव मेरो भक्तिमा चित्त लगाई अन्त्यमा कैलासपद प्राप्त गरे । अब हामी जान्छौँ भनी हिमालय पर्वत र मेनकासित बिदा भई, साँढेमा चढेर पार्वतीलाई काखमा लिई कैलास पर्वतमा गएर प्रमथगण- सहित भई आनन्दले रहँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां शिव-पार्वती- कैलासप्रवेशो नाम चतुर्दशोऽध्यायः ।।१४।।


