करिब ३४ वर्षदेखि श्रमिक आन्दोलनमा क्रियाशील रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राई अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनमा समेत परिचित छन् । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन, बेलायतको दोस्रो कार्यकाल सन् २०२९ सम्मका लागि हाल पनि विश्व कार्य समिति सदस्य समेत छन् । हाल आम निर्वाचनलाई मध्यनजर गरेर गठित ट्रेड युनियन कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य सचिव समेत छन् । निर्वाचनकै सिलसिलामा बारा, पर्सा, सुदुर पश्चिमका जिल्लाहरु र बाँके हुँदै हाल गृह जिल्ला मोरङलगायतका पूर्वी जिल्लाहरुको निर्वाचनकै सन्दर्भमा क्रियाशील छन् । निर्वाचनकै सिलसिलामा राईसँग गरिएको कुराकानी :
तपाईं हालैमात्र केही जिल्लाहरु घुमेर आउनुभयो, निर्वाचनको परिस्थिति कस्तो पाउनुभयो ?
म तपाईंले भने झैं नेपालको बारा–पर्सादेखि सुदुरपश्चिम, बाँकेलगायतका जिल्लाहरु घुमेर आए र हाल आफ्नो गृह जिल्ला मोरङमा छु । आफ्नो संगठनका साथीहरुसँग भेटघाट तथा बैठकहरु गर्दै आउँदा अहिले कांग्रेसको पक्षमा माहोल बढेको पाए । फेरि ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको शुभेच्छुक संस्था पनि हो । हाम्रो श्रमिक क्षेत्रमा हेर्दा हाम्रा सदस्य साथीहरु निर्वाचनलाई लिएर उत्साही हुनुहुन्छ । साथीहरुको भनाई अनुसार म पुग्नु भन्दा अगाडि कांग्रेस अलि सुस्तजस्तो देखिएको थियो भने अहिले कांग्रेस वडा, टोलतिर जुर्मुराएको अवस्था छ । त्यस मुताविक कांग्रेस अग्रगतिमा अगाडि बढीरहेको छ ।
ट्रेड युनियन कांग्रेस निर्वाचनलाई लिएर कसरी अगाडि बढेको छ ?
हामीले करिब दुई महिना अगाडिबाट सबै संरचनालाई परिचालित गरेका छौं । केन्द्रदेखि सबै तहगत संरचनाहरुमा निर्वाचन परिचालन र प्रचार प्रसार समितिहरु बनाएका छौं । त्यस मुताविक साथीहरु सबै जिल्ला, क्षेत्रहरुमा क्रियाशील भइरहनु भएको छ । सबै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधीहरु पठाएर कमिटीहरुको बैठकमार्फत निर्वाचनलाई परिचालन गरेका छौं । त्यस्तै गरेर सुनसरी–मोरङ, बारा–पर्सा र भैरहवा–बुटवल औद्योगिक करिडोरहरुमा मुलत उद्योग कलकारखानामा कार्यरत श्रमिकहरुलाई परिचालन गर्न कार्यक्रमहरु भएको छ । कांग्रेसले ०४८ सालमा नेपाली कांग्रेस को सरकार आएदेखि श्रमिक क्षेत्रमा गरेका कामहरु बताइरहेका छौं । त्यसलाई केन्द्रीय प्रचार प्रसार समितिले सामजिक संजालमार्फत मजदुर फाट तथा सबै जनताहरुलाई बताइरहेका छौं । किनकी जब गरिखाने श्रमिक वर्गको आर्थिक र सामाजिक रुपान्तरण हुन्छ तब मात्र मुलुक समृद्ध हुन्छ भन्ने बताइरहेका छौं ।
तपाईं सम्बद्ध संस्था किन कांग्रेस लाई चुनाव जिताउन लागिपर्नु भएको हो र कांग्रेस ले मजदुरका लागि अहिलेसम्म के के गर्यो ?
हामी के बुझदछौ भने इतिहास इतिहास नै हो । किनकी नेपाली कांग्रेसले लोकतन्त्रका लागि २००३ सालदेखि क्रियाशील भएको र यस अवधिमा कांग्रेस माथि भएको बारम्बारको प्रहार हामी कसैबाट छिपेको छैन । लोकतन्त्रका लागि कांग्रेसले इतिहासमा धेरै नै लडाइँहरु लडेको छ । नेपालमा कांग्रेस लिबरल डेमोक्रेटिक पार्टी पनि हो र आज त्यसैको बदौलत सबै वर्ग समुदायहरुले आफ्नो अधिकारहरुका लागि आवाजहरु बुलन्द गर्न पाएका छन् । कांग्रेस लोकतन्त्रको पक्षपाती भएको र त्यो लोकतन्त्रमा मात्र श्रमिक आन्दोलन क्रियाशील हुन पाउँछ भन्ने कुरा सबै श्रमिक वर्गहरुले बुझेका छन् । त्यसर्थ, लोकतन्त्रका खातिर नेपाली कांग्रेस मुलुकको केन्द्रिय राजनीतिमा साथै संसदमा दरिलो तवरले रहनुपर्दछ भन्ने हाम्रो मान्यता हो । र अहिलेका हामी नयाँ शक्ति हौं भन्ने दलहरुले ट्रेड युनियन रहनु हुँदैन भन्ने बोल्दै आएकाले नेपालको श्रमिक आन्दोलन धरापमा पर्दछ भन्ने हाम्रो चिन्ता हो । र सबै श्रमिक वर्गहरुले त्यो बुझनु पनि भएको छ । संगठन गर्न तथा खोल्न पाउने हाम्रो संवैधानिक अधिकार रहँदै गर्दा नयाँ दलका नेताहरुले चुनावी सभाबाटै शिक्षकलगायत पेशाकर्मीहरुलाई धम्कयाएको हामीले सुन्दै आएका छौं । जो संविधान विपरीत पनि रहेको छ ।
तपाईंहरु कांग्रेस लाई जिताउन लाग्दै गर्दा कांग्रेस ले मजदुरलाई चाहि के–के गरेको छ त अहिलेसम्म ?
नेपाली कांग्रेस र ट्रेड युनियन कांग्रेस को विशिष्ट प्रकारको सम्बन्ध छ । विराटनगरको जुट मिल आन्दोलनबाट स्थापित ट्रेड युनियन कांग्रेस लामो समयदेखि श्रमिक फाँटमा क्रियाशील रहँदैगर्दा सोही आन्दोलनको जगमा टेकेर नेपाली कांग्रेस स्थापना भएको हामी कसैले भुल्न सक्दैनौ । कांग्रेस ले हालसम्म मजदुर फाटप्रति गरेको काम हरुको फेहरिस्त नै रहेको छ । सर्वप्रथम त ०१५ सालको जन निर्वाचित बीपी कोइरालाको सरकारले नै नेपालमा पहिलो पटक कारखानामा काम गर्ने श्रमिकहरुको ऐन, कानुन ल्याएको हो । त्यस पश्चात ०४८ सालमा गरिजा प्रसाद कोइरालाको सरकारले मजदुर संगठन खोल्न पाउने अधिकारका लागि टे्रड युनियन ऐन ल्यायो जसको बदौलत आज सबै मजदुरहरु कानुन अनुसार संगठित हुन पाएका छौं । र आफ्ना अधिकारका कुराहरु व्यवस्थापन समक्ष राख्न पाएका छौ । ०४९ सालमा श्रम ऐन ल्याइयो, गिरिजा प्रसाद कोइरालाले नै ०६५ सालमा अन्र्तराष्ट्रिय मजदुर दिवसमा सार्वजनिक विदा दिने निर्णय गर्नुभयो । शेर बहादुर देउवा नेतृत्वको सरकारले ०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षाको ऐन ल्यायो, त्यस्तै गरेर अन्र्तराष्ट्रिय श्रम संगठनको अभिसन्धिहरु संसदबाट पास गराएको छ । त्यसर्थ यस प्रकारका धेरै नै श्रमिक पक्षिय ऐन कानुन हरु कांग्रेस सरकारमा रहदा ल्याएको छ जसको बदौलत श्रमिकहरुले आफना अधिकारका लागि ति कानुनमार्फत लड्न पाएका छन् । तथापी अझै धेरै गर्नु पर्नेछ जसको लागि कांग्रेस को संसदमा गरिमामय उपस्थिति हुनु पर्दछ भन्नेमा ट्रेड युनियन कांग्रेस दृढ संकल्पित छ । ट्रेड युनियन कांग्रेस का विज्ञ सल्लाहकार विजय बहादुर स्वाँरलाई कैलाली २ बाट प्रत्यक्षमा र पूर्वअध्यक्ष खिलानाथ दाहाल लगायत ६ जना साथीहरुलाई समानुपातिकमा समेटेको पनि छ ।
यस निर्वाचनको माध्यमबाट कांग्रेस शक्तिमा आएमा पुनः कांग्रेस ले श्रमिक क्षेत्रमा के के गर्नु पर्ला जस्तो लाग्छ ?
अहिले पनि चुनावी प्रतिज्ञा–पत्र कांग्रेस ले सार्वजनिक गरिसकेको छ । जसमा श्रमिक पक्षीय धेरै नै कुराहरुलाई लिएर सम्बोधन गरेको छ । ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्दै त्रिपक्षिय सामाजिक संवादमार्फत श्रम विवाद समाधान गरि औद्योगिक शान्ति कायम गर्दै उत्पादकत्वमा जोड दिने, श्रम प्रशासनको स्तरोन्नती गर्न थप लगानी गर्ने, समान कामका लागि समान ज्याला र जीवनयापन योग्य न्यूनतम ज्यालाको सुनिश्चितता गर्दै श्रमिकहरुको आय र जीवनस्तर उकास्ने, अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा जोडने, आन्तरिक र वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई अनिवार्य स्वास्थ्य वीमा र कार्यस्थलमा स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्ने, वैदेशिक रोजगारमा जानु अगाडि र फर्केपछि स्वास्थ्य विमामार्फत स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध गर्ने, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुलाई पचास लाखसम्म उद्यमशिलताका लािग सहुलियतपूर्ण ऋण उपलव्ध गराउने, वैदेशिक रोजगारमा रहेकाहरुलाई विभिन्न राष्ट्रिय गौरवका आयोजना तथा ठुला जलविद्युतहरुमा १५ प्रतिशत शेयर उपलव्ध गराउने, गरिव तथा विपन्न वर्गलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलव्ध गराउने लगायतका धेरै नै श्रमिक पक्षीय मुद्दाहरु प्रतिज्ञापत्रमा समेटिएका छन् । अत यी सबै कुराहरु लागु गराउन पनि हामीले कांग्रेस लाई जिताउन जरुरी रहेको सबै श्रमजिवी वर्गहरुमा म आव्हान समेत गर्न चाहन्छु ।
ट्रेड युनियन कांग्रेस ले चाही वैदेशीक रोजगारमा रहेका श्रमिकहरुका लागि चाही के–के गर्नु भएको छ ?
जिडिपीमा करिब ३० प्रतिशत वैदेशिक रोजगारमा रहेको श्रमिकहरुको योगदान रहेकाले उनीहरुको नोट मात्र होइन भोट पनि मुलुकमा चल्नुपर्दछ भन्ने मान्यतामा ट्रेड युनियन कांग्रेस रहेकाले तीन महिना अगाडि हामी औपचारिक तवरले निर्वाचन आयोगमा गएर कावा निर्वाचन आयुक्तलाई मताधिकारका कुरा पनि राख्यौ । तर संविधानदेखि कानुनसम्म परिमार्जन गर्नुपर्ने अवस्था रहेको आयोगले बताएपछि अब कांगे्रसलाई पुनः संसदमा जोडदार रुपमा नपुरयाई हँुदैन भनेर अहिले हाम्रो ध्यान निर्वाचनतर्फ छ । कोभिडको समयमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई नेपाल फर्काउन हाम्रो संस्थाले क्रियीशल पहलकदमी गरेको हो । त्यस्तै गरेर योगदानमा आधारित सामाजिक सुरक्षामा अहिले श्रमिकहरुको तर्फबाट मात्र एकोहोरो योगदान भएकोमा राज्यको पनि योगदान हुनु पर्दछ भनेर हामी लागि नै रहेका छौं । त्यस्तै विदेशमा रहेका श्रमिकहरुलाई केही समस्या पर्दा हामीले वैदेशिक रोजगार विभाग गठन गरेर त्यस मार्फत कामहरु गरिरहेका छौं ।
हाल मध्यपूर्वका देशहरुमा अशान्त छाएको छ । त्यस क्षेत्रका मुलुकहरुमा काम गर्ने नेपाली श्रमिकहरुको सुरक्षाका लागि नेपाल सरकारले तत्काल कुटनीतिक पहल प्रारम्भ गरोस र उनीहरुको सुरक्षाको बारेमा तुरुन्त पहलकदमी गर्न म माग समेत गर्न चाहन्छु ।
कांग्रेस ले चुनाव जित्ने आधार तपाई के देख्नुहुन्छ ?
मुलत चुनाव जित्ने आधार संगठन नै हो । कांग्रेस संग आवद्ध रहेको सबै वर्ग समुदायमा आधारित क्रियाशील रहेका संगठनहरुको क्रियाशिलता नै हो । हामीसंग आबद्ध २७ वटा पेशाकर्मीका संगठनहरु आ–आफनो तवरले सबैतिर परिचालित छन् । त्यस्तै अन्य भातृ तथा शुभेच्छुक संस्थाहरु क्रियाशील छन् । लोकतन्त्र सबैलाई चाहिन्छ र त्यसको पर्याय नेपाली कांग्रेस नै हो भनेर सबै वर्ग वा समूदायले बुझनु पनि नेपाली कांग्रेस को जित सुनिश्चित हो भन्ने मलाई लाग्दछ । अहिले लोकतन्त्रलाई अझै दरिलो र नेपालको राजनीतिलाई स्थिर गर्ने हो भने नेपाली कांग्रेस ले जित्नै पर्दछ भन्ने मलाई लाग्दछ ।
चुनाव र श्रमिकहरुका सन्दर्भमा थप केही भन्नुपर्ने छ ?
मुलत लोकतन्त्र र ट्रेड युनियन अधिकारका लागि कांग्रेस जित्नु पर्दछ भन्ने मान्यतालाई हामी सबै श्रमिकवर्गहरुले मनन गर्दै आ–आफनो तवरबाट अबको बाँकी दिन सबै श्रमजिवी वर्गहरुलाई सक्रिय हुन आव्हान समेत गर्दछु । श्रमिक क्षेत्रको अन्तर्राष्ट्रिय ट्रेड युनियनहरुले पनि यस निर्वाचनलाई नजिकबाट नियालिरहेका छन् । कतै निर्वाचनको नतिजाबाट नेपालको श्रमिक आन्दोलन अप्ठारोमा त पर्दैन भनेर उनीहरु समेत चिन्तित भएको मैंले पाएको छु । त्यस्तै गरेर जसको जे पेशा तथा कर्म हो त्यही गर्ने हो । अहिले राजनीतिदेखि बाहिरकाहरुको जुन संसदमा जाने प्रयत्न देख्दैछौं साच्चै नै त्यही भयो भने मुलुकको दुर्भाग्य हुन्छ भन्ने हामी सबैले मनन गर्न जरुरी छ ।
त्यस्तै गरेर यो निर्वाचन सबैको भाग्य विधाता र चाड पनि भएकाले नेपाल सरकारले हालै मात्र फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक विदाको घोषणा गरेको छ । त्यो अलि अमूर्त भएको जस्तो लाग्दछ । त्यसर्थ निजी क्षेत्रमा कार्यरत श्रमिकहरुलाई समेत भनेर निर्णय सहितको विज्ञप्ति आएको भए उत्तम हुन्थ्यो । तथापी नेपाल सरकारले उद्योग कलकारखाना लगायत निजी क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सो तीन दिनको सार्वजनिक विदाका लागि स्पष्टताका साथ बोलिदिनु हुन माग समेत गर्दछु भने उद्योग वाणिज्य महासंघ र सिएनआईबाट पनि आफू आबद्ध उद्योग कलकारखानालगायतलाई पनि सरकारको निर्णय लागू गराउनु परिपत्र गरिदिनु हुन समेत आग्रह गर्दछु ।
त्यस्तै जेनजी आन्दोलनले गत भाद्रमा उठाएको सुशासन, शुन्य भ्रष्टाचार लगायतका कुराहरु ट्रेड युनियन कांग्रेस ले गत फागुनमा नै मिडियामा बोलेको जानकारी गराउदछु । अर्थात् कांग्रेस सरकारमै रहेपनि श्रमिक हक, अधिकार तथा सुशासनका लागि ट्रेड युनियन कांग्रेस बोलेको दृष्टान्त पनि हो ।

