सिन्धसपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका–१४, नमुना माझी बस्तीका ३५ जना व्यक्तिहरूले नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उम्मेद्वार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका अवसरमा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बंशलाल तामाङले पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले माझी समुदायले भोगिरहेका विभिन्न समस्या प्रस्तुत गरेका थिए। उनीहरूका अनुसार बस्तीमा बालबालिकाको गुणस्तरीय शिक्षाका लागि उचित व्यवस्था छैन।
साथै, कृषिका लागि लिफ्टिङ सिंचाइको अभाव, आयआर्जनका अवसरको कमी, बैंक ऋणको भार जस्ता समस्या रहेका छन्। बस्तीका कतिपय परिवारले मासिक ६ हजार रुपैयाँसम्म बैंक ऋण तिर्दै आएको गुनासो गरे। महिला दिदीबहिनीहरूलाई उद्यमशील बनाउन विशेष कार्यक्रम आवश्यक रहेको उनीहरूको माग थियो।
उक्त कार्यक्रममा बोल्दै उम्मेद्वार तामाङले माझी बस्तीका समस्या समाधानका लागि नीतिगत व्यवस्था आवश्यक रहेको बताए। ‘म संसदमा निर्वाचित भएँ भने सबैभन्दा पहिले माझी समुदायका समस्या उठाउनेछु,’ उनले भने। बस्तीमा रहेको गुठी सम्बन्धी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, आगामी आर्थिक वर्षभित्र लिफ्टिङ सिंचाइको व्यवस्था गर्न पहल गर्ने र कृषिमा आधुनिकीकरणमार्फत आयआर्जन बढाउने योजनामा आफू प्रतिबद्ध रहेको उनले बताए।
७० घरधुरी रहेको नमुना माझी बस्तीमा पछिल्लो समय राजनीतिक सक्रियता बढ्दै गएको छ। स्थानीयवासीले विकास, शिक्षा, कृषि तथा आर्थिक सशक्तीकरणका मुद्दालाई केन्द्रमा राखेर आफ्ना धारणा राख्दै आएका छन्।

