काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन् । बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जस अन्तर्गत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन ।
यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन् । त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१। प्रधानमन्त्री तथा सोह्रौं योजना कार्यान्वयन कार्ययोजना ९२०८१/८२–२०८५/८६० स्वीकृत
२. नेपाललाई OECD Global Forum on Transparency and Exchange of Information for Tax Purposes को सदस्यता लिन स्वीकृति प्रदान गर्ने ।
३.चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने ।
४. चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने ।
५. बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने ।
६. न्याय सेवा आयोगको सिफारिसबमोजिम दुईजना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने ।
७. विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने ।
८. निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने । साथै, सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने ।
९. २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने ।
१०. श्री हितमान गुरुङ्गलाई बेलायतका राजाद्वारा प्रदान गरिने : उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने
११. नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने ।
१२. २०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१st INTERPOL Annual Heads of NCB Conference मा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने ।
१३. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने ।
१४. भौतिक पूर्वाधार चीन सरकारको अनुदान सहयोगमा निर्माण÷ स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने ।
१५. जेनजी परिषद् गठन गर्ने ।
१६. नेपाल सरकारका सचिवहरू डा। रामप्रसाद घिमिरे र डा। हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्याउनु भएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने ।
१७. नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

