काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज १२औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको द्वादशौँ अध्यायमा हिमालयकी छोरी पार्वतीको जन्म, बाल्यकालदेखि नै शिवप्रतिको अटूट भक्ती र विवाहसम्बन्धी घटनाक्रम वर्णन गरिएको छ । विष्णुसँग पार्वतीको विवाह तय भए पनि शिवलाई नै पति पाउने दृढ इच्छाले पार्वती वनमा गई कठोर तपस्या गर्छिन् । उनकी भक्तिबाट प्रसन्न भई विष्णु प्रकट भई श्रीस्वस्थानी परमेश्वरी व्रतको विधान उपदेश दिनुहुन्छ ।
विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेमा महादेव स्वामी प्राप्त हुने वरदान पार्वतीलाई प्राप्त हुन्छ। यस अध्यायले श्रद्धा, तपस्या र स्वस्थानी व्रतको महत्त्व उजागर गर्दै पार्वती–महादेव मिलनको मार्ग स्पष्ट गर्छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज १२औँ दिन द्वादशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ द्वादशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! त्यसपछि हिमालय पर्वतले आफ्नी पत्नी मेनका गर्भिणी भएको थाहा पाई अत्यन्त हर्षपूर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए । दश महीना पूरा भएपछि मेनकाको गर्भबाट हिमालयकी कन्या जन्मिन् । ती कस्ती कन्या थिइन् भने हजार सूर्यको तेज जस्तै तेज भएकी, रक्तवर्ण र कोमल अंग एवं परम सुन्दरी, पद्मपत्र जस्ता नेत्र भएकी, बत्तीस लक्षणले युक्त कन्या जन्मेकी देखेर हिमालयले वसिष्ठ प्रभृति ऋषि र गर्ग आदि ज्योतिषीहरूलाई डाक्न पठाएर विधिपूर्वक न्वारान गराए । अनि वसिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूले बिदा हुने बखतमा भने- 'हे हिमालय ! यस बालिकाको नाम 'पार्वती' राख्यौँ । हे गिरि- राज ! तिमी धन्य रहेछौ । यी बालिकाले श्री महादेव स्वामी पाएर चौधै भुवनकी स्वामिनी हुनेछन् । समस्त पापी र दुष्टहरूको संहार गर्ने- छन् । तिम्रो श्रद्धा-भक्तिले हामी सन्तुष्ट भयौँ । अब आज्ञा पाए आफाफ्ना आश्रममा जाने थियौँ ।
यति वसिष्ठ आदि ऋषि ज्यातिषीहरूले त्यस्तो भनेको सुनी हिमालय पर्वतले प्रसन्न भई नाना मणि- माणिक्य सुवर्ण द्रव्यादि दक्षिणा दिई प्रणाम गरेर बिदा दिए । अनि समस्त आगन्तुक र वसिष्ठ प्रभृति ऋषि ज्योतिषी आफाफ्ना आश्रममा गए। त्यसपछि पार्वती शुक्लपक्षका चन्द्रमा झैं दिन-दिनै बढेर ठूली भइन् । तिनी खेल्दा पनि शिव- पूजा गरेर नै खेल्दथिन् । यस्ता प्रकारले बाल अवस्थादेखि शिवको भक्तिमा चित्त लगाइरहेकी थिइन् ।
एकदिन नारद मुनिले विष्णु भगवान्कहाँ गएर भने 'हे वैकुण्ठनाथ ! हिमालयकी कन्या पार्वती सबै तरहले तिम्रो योग्य छिन् । कस्ती भने लक्ष्मीभन्दा पनि सुन्दरी, बत्तीसै लक्षणले युक्त भएकी ती कन्यासँग तिमी विवाह गर ।' यति नारद मुनिले भनेको कुरा सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ- 'हे मुने ! के हिमालयले ती कन्या मलाई देलान् र ?' नारद मुनिले उत्तर दिए- 'त्यसको चिन्ता तिमीले लिनुपर्दैन । म अहिल्यै गएर पक्का निधो लिएर आउँछु' यति भनी नारद तुरुन्त हिमालयकहाँ पुगे । हिमालय पर्वतले भेटेर उचित सत्कार गरिसकेपछि नारदजी भन्दछन् - 'हे गिरिराज ! तिमीसित केही भन्न आएको हुँ । तिम्री कन्या पार्वती वैकुण्ठनाथ विष्णुलाई देऊ ।' यति नारद मुनिको कुरा सुनी प्रसन्न भएका हिमालय पर्वत भन्दछन् - 'हे मुने ! यो अत्यन्त उत्तम कुरा भन्यौ । तिम्रो आज्ञाले मेरी पुत्री वैकुण्ठनाथ विष्णुलाई दिएँ । अब तिमी विष्णुकहाँ गएर यो कुरा भन ।' यति हिमालय पर्वतले भनेपछि नारद मुनि वैकुण्ठ गएर हिमालयसित भएको सबै कुरा सुनाए । अनि हिमालय पर्वतले आफ्नी कन्या तिमीलाई दिन्छु भने- भन्ने यति नारद मुनिको कुरा सुनेर विष्णु प्रसन्न भएर- 'हे नारद ! तिमी धन्य रहेछौ । अब आफ्नू आश्रममा जाऊ' भनेर बिदा दिएपछि नारद मुनि आफ्नू आश्रममा गए । त्यसपछि हिमालय पर्वतले पार्वती कन्यादान दिन भनी सामग्री तयार पारी नारद मुनिलाई डाकेर विष्णुकहाँ पठाई राम्रो लग्न ठहराई आफ्ना गुरु बृहस्पति आदि सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नाग सबैलाई निमन्त्रण पठाए । अनि विष्णु भगवान् पार्वती कन्यादान लिन हिमालयकहाँ पुगे । उता मेनकाले हीरा-मोती, मणि-मणिक्य वस्त्रालंकार नाना रत्नहरूले झकिझकाउ पारेर पहिराई पार्वतीलाई सिँगारिराखेकी थिइन् । त्यो देखेर जया, विजया, अजिता, अपराजिता आदि सखीहरूले पार्वतीलाई भने- 'हे सखी ! आज तिम्रो विवाह हुन्छ । विष्णुलाई कन्यादान दिन्छन्।' यति सखीहरूले भनेको सुनी पार्वतीको मनमा शंका उत्पन्न भयो- 'मैले बाल अवस्थादेखि नै श्रीमहादेव स्वामी पाऊँ भनेर धाइरहेकी छु, अझ पनि महादेवलाई नदिएर अरू कसैलाई दिए भने म आत्महत्या गरेर मर्नेछु ।' तिनको कुरा सुनेर सखीहरूले भने- 'हे पार्वती ! त्यसो हो भने तिमी यहाँ नबस । हामी कसैले पनि नदेख्ने स्थानमा लुकाएर आउँछौँ, लौ हिंड ।' यति सखीहरूले भनेको सुनी- 'हे सखी हो, जसो गर्ने हो गर, म केही जान्दिनँ' भनिन् ।
त्यसपछि सखीहरूले नदीतटको वनमा लगेर पार्वतीलाई कसैले नदेख्ने एकान्त ठाउँमा लुकाएर आए । त्यसपछि हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई यज्ञमा बसाली सारा विधि गरिसकेर कन्यादान दिन पार्वतीलाई लिन पठाए । तर घरमा देखेनन् र यता-उता सबै खोज्न लगाए । कहीं पनि पाउन सकेनन् र हिमालय पर्वतले अत्यन्त व्याकुल भई गुरु बृहस्पतिकहाँ गएर- 'पार्वती कहीं पनि छैनन्, अब के कसो गरूँ' भने । यति हिमालय पर्वतले भनेको सुनी गुरु बृहस्पतिले 'यस लग्नमा भएन' भनी विष्णुलाई बिन्ती गरे । अनि आएका निम्तारु जति सबै फर्केर आफाफ्ना आश्रममा जाँदा भए । उता सखीहरूले पार्वतीलाई वनमा लुकाएर आएपछि पार्वतीले नदीतटमा गएर बालुवा ल्याई त्यसको पार्थिव शिवलिंग बनाई श्रीमहादेवको आराधना गर्न लागिन् । उसै बेला दुई दैत्य प्रघोष र दमघोष आएर पार्वतीको सौन्दर्यमा लोभिएर अनेक प्रकारका नराम्रा चेष्टा देखाउन लागे । तिनको चेष्टा देखेर पार्वतीलाई रीस उठ्यो र उनले हेर्नासाथ दुवै भस्म भए । अनि पार्वतीले बनाएको शिवलिंगबाट स्वयं महादेव प्रकट भई आफ्नू ज्योतिः स्वरूपको दर्शन दिनुभयो र 'हे पार्वती ! तिमीले मेरो किन आराधना गरेकी ?' भन्नुभयो । पार्वतीले बिन्ती गरिन् - 'हे जगदीश्वर। मैले बालक कालदेखि नै श्रीमहादेव स्वामी पाऊँ भनेर हजुरलाई धाइरहेकी छु । मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यहाँ लुक्न आएकी हुँ । मदेखि प्रसन्न भई रक्षा गर । हे प्रभो ! मेरो इच्छा पूर्ण गराऊ ।' पार्वतीको यस्तो प्रार्थना सुनेर महादेव आज्ञा गर्नुहुन्छ- 'हे पार्वती ! तिम्रा माता-पिताले कन्यादान नदिई मैले तिमीलाई 'मेरी' भन्न मिलेन ! अब विष्णु आएर तिमीलाई जस्तो उपदेश दिनन्, उसै माफिक गरे इच्छा पूर्ण हुनेछ ।' महादेवको यस्तो शिक्षा सुनेर पार्वतीले 'जो आज्ञा' भनी साष्टांग प्रणाम गरिन् । अनि महादेव अन्तर्धान हुनुभयो । त्यसपछि सखीहरू आए र पार्वती घर गइन् । छोरी आएकी देखेर रिसाएका हिमालयले भने- 'हे पुत्री ! तिमी कहाँ गएकी थियौ ?' पार्वतीले बिन्ती गरिन् - 'हे पिता ! म बालक कालदेखि नै श्री महादेव स्वामी पाऊँ भनी उनैलाई धाइरहेकी छु र उनकै ध्यान भक्ति पनि मेरो हृदयले सदैव गरिरहेछ । हजुरले श्री विष्णुलाई दिन लाग्दा लुक्न गएकी थिएँ।' आफ्नी पुत्री पार्वतीले यति भनेको सुनी उनको न्वारानका दिन वसिष्ठ प्रभृति ऋषि र ज्योतिषीहरूले पार्वतीको विषयमा भविष्यवाणी गरेको सम्झी चुप लागे । २ त्यसपछि पार्वतीले विष्णु कहिले आउलान् र श्री महादेव स्वामी पाउँली भनी अनेक तीर्थ, व्रत, दान, धर्म, जप, तप, नियम पालन गर्न लागिन् ।
फेरि निकै दिन बालुवाको शिविलिंग बनाई पार्थिव पूजा पनि गरिन् । तिनको अडिग श्रद्धा एवं भक्तिभाव देखेर विष्णु भगवान् गरुड़मा चढ़ी शंख, चक्र, गदा, पद्म धारण गरी पार्वतीको सामुन्ने आएर आज्ञा गर्नुभयो- 'हे पार्वती ! तिमीले शे अनेक तीर्थ, व्रत, दान, धर्म, पूजा-पाठ, यज्ञ आदि गरेको देख्दा म अत्यन्त प्रसन्न भएँ । तिम्रो मनमा जे इच्छा छ सो वरदान माँग, म दिन तयार छु ।' विष्णु भगवान्ले त्यस्तो आज्ञा भएको सुनी पार्वती विनति गर्दछिन् - 'हे ईश्वर ! हे परब्रह्म परमात्मा ! मलाई केही वरदान पाउने इच्छा छैन । केवल महादेव स्वामी प्राप्त हुने वरदान बक्सियोस् ।' पार्वतीको यस्तो प्रार्थना सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ - 'हे पार्वती ! तिमीले परिश्रमसाथ गरेका यी तीर्थ, व्रत, दान, धर्म, व्रत, उपवासभन्दा पनि यौटा अति उत्तम र गोप्य कुरा भन्दछु, तिमी एकचित्त भएर ध्यानपूर्वक सुन- 'श्री स्वस्थानी परमेश्वरीको व्रत गर । त्यस व्रतको प्रभावले जगदीश्वर श्री महादेव स्वामी पाउने छौ, यसमा शंका छैन ।' श्री विष्णुले यति आज्ञा भएको सुनी पार्वतीले फेरि बिन्ती गरिन्- 'हे ईश्वर ! त्यस व्रतको विधान के हो, र त्यसमा के - के गर्नुपर्दछ ? यो सबै विस्तारपूर्वक आज्ञा गर्नुहवस् !' पार्वतीको यस्तो प्रार्थना सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ- 'हे पार्वती ! पौषशुक्ल पूर्णिमाको दिनदेखि व्रत आरम्भ गर्नुपर्दछ । एक दिन पहिले नै हात-खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एकभक्त रही, एकचित्त गरी, नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नू र एक महीनापछि अर्थात् माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय बेली - पुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय पान र जात-जातका फल-फूल, नैवेद्य, आदि सबै वस्तु तयार पारी आर्सी (तामाको थाली) मा ॐकार लेखी गंगाजलले स्नान गराउनू र श्रीखण्ड, रक्तचन्दन लगाई, पीताम्बर वस्त्र पहिराई, धूप-दीप, नैवेद्य, कस्तूरी, भेटी, दक्षिणा चढ़ाई षोडशोपचार वा पञ्चोपचारले पूजन गरिसकी स्तोत्र पाठ, जप, ध्यान गरिसकी अर्घ्य दिनू । अनि हे पार्वती ! स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने :-
अष्टासु च दलेष्वेव मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वं च अर्धे च वरमुत्पलम् ।।
चतुर्भुजां त्रिनेत्रां च सर्वालंकार भूषिताम् ।
सुवर्णवद्-विकासाभां स्वस्थानीं जगदीश्वरीम् ।।
अर्थ - अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथि खड्ग, त्रिशूल र वर नीलोत्पल, हातमा धारण गरेकी, चार बाहु र तीन नेत्र भएकी, अनेक प्रकारका अलंकार पहिरेकी, अनेक आयुध लिएकी, पीतवर्णभन्दा पनि अत्यन्त शोभायमान भएकी यस्ती श्री स्वस्थानी परमेश्वरीको ध्यान गरेर हे जगदीश्वरी ! भनी मनमनै उनीसित इच्छा भएको वरदान माग्नू । अनि प्रसाद झिकेर अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी, सगुनसमेत आफ्न पतिलाई दिनू, पति नभए छोरोलाई दिनू, छोरों नभए मीतछोरोलाई दिनु र मीतछोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ, त्यो मेरो फलानू कामना पूर्ण होओस् भनेर गंगामा बगाइदिनू, सय रोटी आफूले फलाहार गर्नू । रातमा जाग्राम बसेर स्वस्थानीकै महिमा गान, भजन, कीर्तन गर्नू, सुन्नू सुनाउनू । यति गरेपछि अवश्य इच्छा पूर्ण हुनेछ, यसमा कुनै शंका छैन । हे पार्वती ! स्वस्थानी परमेश्वरीको प्रसाद लिने वेलामा श्री महादेव तिम्रो सामु आफै प्रकट हुनुहुनेछ । तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ ।' यति भनिसकेर “तिमीले महादेव स्वामी पाए' भनी विष्णु भगवान्ले वरदान दिनुभयो । हे अगस्त्य मुनि! नारायण विष्णुले यति आज्ञा भएपछि पार्वतीले मनमा सन्तोष र आनन्द मान्दै श्रद्धा- सहित विष्णुको पनि पूजा र प्रणाम गरिन् । तिनले पूजा गरिसकेपछि विष्णु भगवान् बिदा भएर गरुड़मा चढ़ी त्यहाँबाट अन्तर्धान भई वैकुण्ठ धाममा जाँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां श्रीविष्णुस्वस्थानीव्रतोपदेशवर्णनं नाम द्वादशोऽध्यायः ।। १२ ।।



