Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ११
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज एघारौं दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको एकादशौँ अध्यायमा सतीदेवीको वियोगपछि महादेवको गहिरो शोक र त्यसबाट उत्पन्न घटनाक्रम वर्णन गरिएको छ। सतीशोकमा डुबेका महादेव पृथ्वी भ्रमण गरिरहँदा तारकासुरले अवसर उपयोग गरी देवताहरूलाई पराजित गर्दै अमरावती कब्जा गर्छ। देवताहरू मृगस्थलीमा शरण लिई महादेवसँग सहायता मागे पनि शिव मौन रहन्छन्।

पछि कर्णाटकको ब्रह्मपुरमा पुगेका महादेवलाई लिएर उत्पन्न विवादका क्रममा ऋषिहरूको श्रापले ज्योतिर्लिङ्ग प्रकट हुन्छ, जसले सम्पूर्ण ब्रह्माण्ड ढाक्न थाल्छ। विष्णु भगवान्को हस्तक्षेपपछि ज्योतिर्लिङ्ग शान्त हुन्छ र महादेव वैराग्य धारण गर्दै कठोर तपस्याका लागि उत्तरापन्थ प्रस्थान गर्छन्।

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज एघारौं दिन एकादशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।

अथ एकादशोऽध्यायः

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! तहाँ उप्रान्त सतीदेवीको प्रत्येक अंग पतन भयो र महादेवले चित्त दृढ पार्न नसकी हा सती ! भन्दै भूमिमा ढली मूर्च्छा परे। निकै बेरपछि होश आयो र लामो-लामो सास फेरी चित्तले सतीलाई नै सम्झी बौलाहा जस्तै जताततै डुल्न लागे । त्यस्ता तरहले महादेव हिंडेको देखी तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो- 'हे मन्त्री हो ! हेर, सतीदेवीको वियोगमा महादेव बौलाहा जस्तै भएर हा सती ! भन्दै हिंडिरहेका छन् । यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लाउनुपर्दछ । अब हामीलाई कसैले केही गर्न सक्तैन । अहिल्यै जाऔँ भनी तत्काल आफ्ना सेनाहरू अगि लगाएर सेनापति र मन्त्री- सहित भई लड़ाइँ गर्न अमरावती गयो । त्यो देखेर देवराज डराई- 'हे देवता हो ! अब हामी यहाँ नबसौं, किनकि तारकासुरलाई महादेवले वरदान दिनुभएको छ । अतः त्यसलाई युद्धमा कसैले पनि जित्न सक्तैन । बरु यहाँबाट भागौं' भनी स्वर्गबाट भागी मृगस्थलीमा आएर बसि- रहे । त्यसरी देवताहरू स्वर्गबाट भागेपछि तारका- सुरले अमरावतीमा अधिकार जमाई स्वर्ग-मर्त्य- पाताल तीनै लोकको राज्य भोगेर बस्तो भयो । त्यसपछि महादेव पृथ्वीभ्रमण गर्दै मृगस्थलीमा आउनुभयो र देवताहरूले देखी साष्टांग प्रणाम गरी बिन्ती चढाए- 'हे ईश्वर ! अब हजुरसँग मृतक देह छैन । नेत्र खोलेर हेर्नुहवस् । पापिष्ठ तारकासुरले हाम्रो अमरावती खोसेर लियो । त्यसलाई हजुरले वरदान दिनुभएको हुनाले हामी त्योसँग लडाइँ गर्न असमर्थ भई भागेर यहाँ आई बसेका छौं । अब हाम्रो रक्षा गरी पापिष्ठ तारकासुरको संहार गर्नुहवस् । देवताहरूको यस्तो प्रार्थना सुनी महादेवले नेत्र उघारी हेर्नुभयो र  सामुन्ने देवताहरूलाई देखी केही पनि उत्तर नदिई मनले उनैलाई सम्झी हा सती ! भन्दै त्यहाँबाट हिंड्नु भयो । महादेवले शोक गरेको देखी संसार- मा जति जीवात्मा छन्, ती कसैले पनि सहन सकेनन् । यस्तै प्रकारले सतीको शोकमा एक सय वर्षसम्म महादेव पृथ्वी- भ्रमण गरेर हिंडिरहनुभयो ।

त्यसपछि एकदिन चित्त दृढ गरी महादेवले हेर्दा आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी अब के गरूँ ? कता जाऊँ ? कसरी शान्ति प्राप्त होला भनी भरिसक्य धैर्य धारण गरी उत्तरापन्थमा तपस्या गर्न जान्छु भनेर हिंडेको त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागी जाँदा-जाँदा कर्णाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नुभएछ । त्यहाँका ऋषिहरू गंगा-स्नान गर्न गएका रहेछन् । ऋषि- पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागेका देखी आपुसमा कुरा गर्न लागे- 'हे ऋषि- पत्नी हो ! हेर, ती जान लागेका महादेव हुन् । सतीदेवी मर्नाले बौलाहा जस्तै भई त्यस प्रकारले हिंडिरहेका छन् । हाम्रा स्वामीहरू एकभक्त रहनाले र अनेक व्रत उपवास गर्नाले दुर्बल छन् । अतः हामीहरूलाई काम- भोगमा सन्तुष्ट पार्न सक्तैनन् । यसकारण हामीहरू यिनैका पछि लागेर जाऔँ' । यति सल्लाह गरी सबै ऋषि- पत्नीहरू महादेवका पछि लागेर हिंडे । त्यसरी पत्नीहरू गएको गंगामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए । निकै पर पुगेपछि बाटोमै भेटे र- 'हे महादेव ! तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका ?' भने तिनीहरूले त्यस्तो भनेको सुनी महादेवले 'तिम्रा पत्नीहरू म किन हरण गरेर ल्याउँथें ?' भनी उत्तर दिनुभयो । अनि ऋषिहरूले- 'यी तिम्रा पछि लागेर आएका को हुन् त ?' भनी सोधे । अनि महादेवले पछाडितिर फर्केर हेर्दा ऋषि- पत्नीहरूलाई देखेर- 'यिनीहरूलाई मैले त ल्याएको होइन । कुन्नि किन पछि लागेर आएछन् भन्नुभयो । अनि रिसाएका ती ऋषिहरूले- 'हे महादेव ! हाम्रा पत्नीहरू तिम्रो लिंग देखेर पछि- पछि आएका हुन् । अतः तिम्रो त्यो लिंग पतन होस्' भन्ने श्राप दिए । तिनीहरूको श्रापले तत्काल शिवको लिंग पतन भयो र त्यसैबाट यौटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूर्ण ब्रह्माण्ड ढाक्न लाग्यो । त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि श्री विष्णु भगवान् कहाँ पुगी बिन्ती गरे- 'हे ईश्वर ! महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर  समस्त ब्रह्माण्ड ढाक्न लाग्यो । सोही कुरा बिन्ती गर्न आएका हौँ । अब जे गर्नुपर्ने हो, तत्काल गर्नुपर्यो ।' देवताहरूको त्यस्तो प्रार्थना सुन्नासाथ विष्णु भगवान् तत्काल त्यहाँ पुगी त्यो ज्योतिर्लिङ्गलाई अंकमाल गर्नासाथ ज्योतिर्लिङ्ग साम्य भयो । त्यो देखेर समस्त देवता, यक्ष, नाग, गन्धर्व र किन्नर आदिले विष्णु भगवान्‌को अनेक प्रकारले स्तुति गरी आफाफ्ना आश्रममा गए । अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादेवले ती ऋषिहरूलाई भन्नुभयो- 'हे ऋषि हो ! म निर्दोषलाई व्यर्थमा श्राप दियौ, अतः तिमीहरूको पनि वाक्य शुद्ध नहवस् र ब्राह्मणीहरू पनि एकपति मानेर बस्न नसकून् ।' यति भनी उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह छाडी, सम्पूर्ण इन्द्रिय बाँधी, परब्रह्ममा आफ्ना तीनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नुभयो ।

 ।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां इन्द्रादिदेवतामृगस्थलीगमनं नाम एकादशोऽध्यायः ।। ११।।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update