Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ८
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज आठौं दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

आज यस कथामा स्कन्दपुराणको केदारखण्ड अन्तर्गत माघमाहात्म्यको अष्टमो अध्यायमा दक्षप्रजापतिको यज्ञ विध्वंशको प्रसंग वर्णन गरिएको छ । विष्णु लगायत देवता युद्धबाट पछि हटेपछि वीरभद्रले दक्षप्रजापतिको शिर काटी यज्ञकुण्डमा होम गर्छन् । पछि दक्षकी पत्नी विरणीको विलाप सुनेर वीरभद्रले यज्ञमा बलि दिइएको बोकाको टाउको जोडेर दक्षलाई पुनर्जीवित गराउँछन् । 

यज्ञ विध्वंशपछि वीरभद्र र महाकाली कैलास पुगेर महादेवलाई घटनाको जानकारी गराउँछन् र शिवले उनीहरूलाई आफ्नै स्वरूपमा लीन गराउनुहुन्छ । त्यसपछि महादेव यज्ञस्थल पुगेर सतीदेवीको मृत देह देखी गहिरो शोकमा डुब्नुहुन्छ र सतीको शरीर काँधमा बोकी पृथ्वीभरि विलाप गर्दै भ्रमण गर्नुहुन्छ ।

यो अध्यायमा शिव–सतीको वियोग, अहंकारको परिणाम र शिवनिन्दाको दुष्परिणामलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । आज आठौं दिन सातौं अध्याय यहाँहरूसमक्ष सविस्तारमा प्रस्तुत छ ।

अथ अष्टमोऽध्याय

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! विष्णु भगवान् संग्रामबाट अन्तर्धान भएपछि बाँकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दश दिशातिर भागे । ती परस्परमा भन्दथे 'अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खड़ा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता नारायण पनि भागे । अब हाम्रो क्षुद्र पराक्रमले के होला ! तस्मात् अब आफाफ्नू प्राण रक्षा गर्नु नै उचित हो' भन्दै दश दिशा भागे । नारायण-सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफाफ्नू जीवन बचाई भागेको देखी वीरभद्रले नागले झैं निःश्वास फेरी, वर्षा-कालको मेघ गर्जे झैँ गर्जी, तत्काल दक्षको टुपी समाती भूमिमा ढलाई बोध गराए- 'हे पापिष्ठ दक्ष ! तँले महादेवको अनेक निन्दा गरिस् । आफ्नी छोरीको हत्या गरिस्, तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न । त्यो बौलाहा हो, उसलाई नडाके मलाई के होला ! भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्, अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कता गए ? तिनीहरूको सहायता माँगी आफ्नू प्राण बचा । तेरो यज्ञ बिना-शंकर नै पूरा गराऊन् । अब तँलाई पनि यही यज्ञमा होम्न सके हामीलाई सन्तोष होला' भनी अनेक तरहले बोध गराई दक्षप्रजापतिको शिर काटेर अग्नि- कुण्डमा होमिदिए । यस्ता प्रकारले दुष्ट संहार गरेको देखी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, विषमज्वर र महाकाली आदिले प्रसन्न भई, शिव-निन्दक दक्षप्रजापतिको नाश गयौ, धन्य-धन्य वीरभद्र ! तिमी-समान वीर यस संसार- मा हुन दुर्लभ छ भनी स्तुति गरे । त्यसपछि दक्षप्रजापतिकी स्त्री विरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमिदिएको देखेर अत्यन्त अधैर्य भई ठूलो हावा चल्दा केराको थाम ढले- पृथ्वीमा ढली मूर्च्छा परिन् । केही बेरमा चेष्टा आयो र शोक गर्न थालिन् - 'हे नाथ ! मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयौ ? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्ता यस्तो भयो । हे मूढ ! व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयौ, मेरो यो गति भयो' भनी अनेक प्रकारले शोक गरेर  हेरी वीरभद्रले भने- 'हे विरणी ! तिम्रो स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु, तर तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकें । अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साह्रै निन्दा गयो, अतः यो पशु हो, यसैले पशुकै टाउको जोरिदिन्छु ।' यस्तो वीरभद्रको वचन सुनी विरणीले 'हुन्छ' भनी अञ्जलि जोरी उभिइरहिन् । अनि वीरभद्रले यज्ञशालाबाट बोकाको टाउको मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्षप्रजापतिलाई जिलाइ - दिए । दक्षप्रजापति जीवित भएपछि विरणीले मनमा सन्तोष मानी छाग-मुख अर्थात् बोकाको टाउको भएका स्वामी-सहित भै वीरभद्र र महाकालीलाई दण्डवत् प्रणाम गरी आफ्नू घर गए ।

यता वीरभद्र र महाकाली पनि देवता, यक्ष, गन्धर्व, किन्नर आदिको संहार गरी, दक्षको यज्ञ विध्वंश पारी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, प्रमथगण समेत त्यहाँबाट अन्तर्धान भई कैलासमा पुगी शिवजीलाई दण्डवत् प्रणाम गरेर- 'हे ईश्वर ! हजुरको आज्ञा-अनुसार दक्षको यज्ञ विध्वंश पारी देवता, यक्ष, गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्टयाई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री विरणीले आफ्ना स्वामी मरेको देखी साह्रै दीन भावले विलाप गर्न लागिन् । त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको टाउको ल्याएर पछाडि मुख फर्काई जोरेर दक्षप्रजापतिलाई जिलाई आएँ' भनी बिन्ती गरे र महादेव प्रसन्न भई - 'हे वीरभद्र ! हे महाकाली ! तिमीहरू धन्य रहेछौ, म प्रसन्न भएँ' यति भनी ती दुवैलाई आफ्नू शरीरमा लीन गराए । त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सतीदेवीलाई देखी 'हा सती ! कैलास शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयौ ?' भन्दै साह्रै नै अधैर्य भई वृक्ष ढले- भूमिमा लडी मूर्च्छा परे । केही बेरमा चेत आयो र 'हे प्यारी ! अब मैले यस संसरमा बाँच्नु पनि व्यर्थ भयो । मलाई एकक्षण पनि एक्लै नछाडी मेरै मुख्याञ्जी बसेर मैले भनेका कथा पुराणहरू सुनिरहन्थ्यौ, मेरो वचन नमान्दा तिम्रो यो गति भयो, म यस स्थितिमा पुगेँ' भन्दै मुड्कीले छाती ठोकी, वर्षाकालमा आकाशबाट पानी परे झैँझैँ मोतिका दाना जस्ता आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नुभयो- 'हे प्रिये ! म कतै गएर आउँदा सुनको कमण्डलु लिई गोडा धोइदिन आउँथ्यौ । हे प्यारी ! मेरो खाने वस्तु भनेर विष, भाङ, धतुरो-मेरो स्वामीले खाने वस्तु भनेर जतन गरी राख्दथ्यौ, अब को राखिदेला ! तिमी- बिना मेरो चित्त कसरी स्थिर रहला ?' यसरी भन्दै कहिले काखमा लिने, कहिले अंकमाल गर्ने, कहिले म्वाइँ खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नू छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठिउँमा बोकी बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिडे । महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भइनन् । केवल निदाए की जस्ती भएर रहिन् ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- रमेशर्या नतकशायां जनित्रंशवर्णनं नाम अष्टमोऽध्यायः ||८||

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update