काठमाडौं – आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार डा. बिजु श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । भ्रष्टाचार मुक्त सुशासन र नतिजामुखी विकासको एजेन्डा बोकेर श्रेष्ठ चुनावी मैदानमा उत्रेका हुन् ।
डा श्रेष्ठका अनुसार राजनीति सत्ता वा शक्ति प्राप्त गर्ने माध्यम नभई सेवा र व्यवस्थापनको उच्चतम थलो हो। अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) हासिल गरी व्यावसायिक व्यवस्थापन क्षेत्रमा लामो अनुभव बटुलेका उनले त्यो ज्ञान आफ्नै जिल्लाको विकासमा प्रयोग गर्न राजनीतिमा सक्रिय भएको बताए।
विगत १० वर्षदेखि ‘विकासका लागि एकता’ संस्थाको अध्यक्षका रूपमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष काम गर्दै आएका छन् । संस्थामार्फत ४६ वटा सामुदायिक विद्यालयमा शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको र आधुनिक शिक्षण विधि लागू गरिएको उनले भोटडटबिजुमा उल्लेख गरेका छन् । साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला, प्राविधिक भ्रमण तथा प्रविधिमैत्री शिक्षाको सुरुआतसमेत उनले गरेका छन् । उनले मेलम्ची क्षेत्रमा ट्याबलेट मार्फत शिक्षण सिकाइ र 'हरित विद्यालय' को अवधारणा सुरु गरेका छन् ।
डा श्रेष्ठको चुनाव चिन्ह ‘टोपी’ (क्याप) रहेको छ। उनले टोपी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई बौद्धिकता र श्रमको सम्मान गर्ने चिन्ह भएको उल्लेख गरेका छन् ।
उनले आफ्नो प्रमुख एजेन्डामा दिगो पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षा र युवा स्वरोजगारलाई प्राथमिकता दिएका छन्। मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपछिको स्थायी पुनर्निर्माण, सडक सञ्जालको स्तरोन्नति, डिजिटल साक्षरता विस्तार तथा कृषि र पर्यटनलाई प्रविधिसँग जोडेर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको योजना छ। युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न 'होम-स्टे' र साना उद्योगको प्रवर्धन गर्ने उनको योजना छ ।
डा श्रेष्ठले चुनावमा होम्मिनुको मुख्य उद्देश्य भ्रष्टाचारमुक्त सुशासन र नतिजामुखी विकास भएको बताए। स्वतन्त्र उम्मेदवारका रूपमा कुनै राजनीतिक दबाब बिना जनताको हितमा काम गर्ने र राजनीतिमा शुद्धीकरण ल्याउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।
उनले सांसद निर्वाचित भएपछि सिन्धुपाल्चोकलाई ‘स्मार्ट जिल्ला’ बनाउने योजना अघि सारेका छन् । आफ्नो चुनावी अभियानको मूल नाराका रूपमा उनले “आत्मनिर्भर सिन्धुपाल्चोक, स्वावलम्बी नागरिक” लाई अघि सारेका छन्। उनका अनुसार जिल्लालाई एनजिओ/आएनजिओमा निर्भर नभई आफ्नै स्रोत, सीप र विज्ञताका आधारमा विकासको बाटोमा अगाडि बढाउने लक्ष्य राखिएको छ।

