Harsamaya
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म
ग्राफिक्सः हर समय/harsamaya

बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन, २०६३ मा भएको उक्त व्यवस्था कार्यान्वयनमा आएको हो। नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

कार्यसम्पादन समितिको आग्रह: नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।बिहीबार (पुस २४) पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका छन् ।

एक हप्ताभित्र विवरण माग गर्ने आदेश: सर्वोच्च अदालतको काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतीसहित मुख्य तथा सहायक नदीको सीमा, करिडोर, तटबन्ध र नदी किनारको बस्ती विकासका विषयमा सरकारसँग नौ बुँदे लिखित विवरण माग गरेको छ । न्यायाधीशहरू डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त विषयमा एक हप्ताभित्र विस्तृत रूपमा लेखी पठाउन आदेश गरेको हो । आदेशमा भनिएको छ,‘अदालतले यस मुद्दाको विषयवस्तुको प्रकृति र वैशिष्ट्यलाई मध्यनजर गरी प्रस्तुत मुद्दा शीघ्र किनारा हुनुपर्ने आवश्यकता देखिएकाले माथि उल्लिखित सम्पूर्ण कार्य एक हप्ताभित्र सम्पन्न गरी माघ ४ गते प्रस्तुत मुद्दा पेसी बढाउनु ।’

युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित: युक्रेनमा भएको रूसी आक्रमणको कारण  निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र विद्युत आपूर्ति विहीन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ ।अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरुमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण गरेको बताएका छन् । ठूलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् ।

तामाङ भाषालाई गुगल अनुवादमा लैजाने: तामाङ भाषालाई यही फागुनसम्ममा गुगल अनुवादमा लैजान पहल गरिने भएको छ। तामाङ अनुवाद टोलीका संयोजक अमृत योन्जन-तामाङले आउँदो फागुनसम्ममा गुगल अनुवाद प्रणालीमा लैजाने प्रयासमा रहेका हुन्। यसका लागि एक लाख वाक्य लक्षित गरिएकोमा काठमाडौं विश्विद्यालयको प्राविधिक टोलीले तयार गरेको वेबसाइट tmt.ilprl.ku.edu.np मा ५० हजार तामाङ शब्दहरुले प्रवेश पाइसकेको योन्जनले बताए। 'आउँदो फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवाद सेवामा प्रवेशको लागि पहल गरिने छ,' बिहीबार काठमाडौंको बौद्धस्थित तामाङ अध्ययन प्रतिष्ठानमा पत्रकार सम्मेलन आयोजना गरी संयोजक योन्जनले बताए।

निर्वाचन प्रहरीमा खुल्यो भर्ना:  फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको लागि भर्ना खुलेको छ ।  प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने जनाएको छ ।निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरू सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामकरण गरिएको हो।

एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अन्तरपार्टी निर्देशन (अपानी)–१ जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन्। अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ।

सुनचाँदीको मूल्य घट्यो:  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।

काउन्टर मुभ: पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ। भर्खरै सभापति शेरबहादुर देउवा निवासमा संस्थापन समूहका शीर्ष नेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवा सहित नेताहरू बालकृष्ण खाण,एनपी साउद, जितजंग बस्नेत सहित नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत तरूण दल अध्यक्ष विद्वान गुरूङ लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update