Harsamaya
पुस २७ गते युवा तथा २८ गते जिल्ला सभापतिहरूको भेला गर्दै काँग्रेस संस्थापन समूह 
काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ।

भर्खरै सभापति शेरबहादुर देउवा निवासमा संस्थापन समूहका शीर्ष नेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवा सहित नेताहरू बालकृष्ण खाण,एनपी साउद, जितजंग बस्नेत सहित नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत तरूण दल अध्यक्ष विद्वान गुरूङ लगायतको सहभागिता रहेको थियो।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार पुस २७ मा पार्टी अफिसमा तरूण दलले युवा भेला गर्ने निर्णय भएको छ। जसको संयोजन तरूण अध्यक्ष विद्वान गुरूङले गर्ने छन्। यस्तै २८ पुसमा जिल्ला सभापतिहरूको भेला गर्ने तयारी भएको छ । जसको समन्वय केन्द्रीय सदस्य जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ । ‘विभिन्न कार्यक्रम गर्नेगरी छलफल र तयारीहरू भइरहेका छन्,’ देउवा निवासबाट निस्किएका एक नेताले भने।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसमा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी छ। जसलाई काउन्टर दिन विभिन्न तयारी भइरहेको स्रोतले बतायो।
 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update