काठमाडौं - फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने जनाएको छ । निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ।
निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरू सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामकरण गरिएको हो।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्व सुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरूलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरूले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।
यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ।
निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड सोमबार गृह मन्त्रालयले स्वीकृत गरेको थियो। सोमबार नै गृह मन्त्रालयले मापदण्ड स्वीकृत गर्दै दुवै प्रहरीलाई पठाएको थियो।
यसअघि २०७९ को निर्वाचनमा एक लाख १५ हजार म्यादी माग गरिएको थियो। तर यस पटक आयोगले मतदान स्थल बढाएकाले निर्वाचन प्रहरीको सङ्ख्या पनि थप गरिएको हो।
निर्वाचनमा ३० हजार बढी सशस्त्र प्रहरी र ७० हजार नेपाल प्रहरी पनि परिचालन हुनेछन्।

