पछिल्लो समय नेपालमा नाटक अर्थात रंगमन्च क्षेत्र रोजाइमा छ । नाटक लेखनदेखि रंगमन्च निर्माणमा उल्लेख्य भूमिका खेलेका वालकृष्ण समको समयदेखि नेपालमा नाट्य क्षेत्र चर्चामा छ । चलचित्र आउनुभन्दा अगाडिदेखि डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो । पछिल्लो समय सिनेमा हल छिर्ने दर्शकहरु रंगमन्चतिर सोझिन थालेका थिए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
विशेष महाधिवेशन गर्ने घोषणा: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
निर्वाचन पर्यवेक्षणको अनुमति: निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि ४० संस्थाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति पाएको जानकारी दिएको छ। आयोगले जारी गरेको विज्ञप्ति अनुसार पुस १६ गते थप ९ संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको हो। 'थप ९ (नौ) बटा राष्ट्रिय संस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति प्रदान गरिएको छ।
रमेश लेखकको भ्रमण फुकुवा: गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ ।
वार्ता असफल: आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकार र भुसाल पक्षबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। पछिल्लो ९ दिनदेखि आमरण अनशनमा रहेका दुवैसँग सरकारले गरेको वार्तामा सहमति जुट्न नसकेको हो।
राहदानी सम्बन्धी सेवा शुल्क परिवर्तन: थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर तथा राहदानी सेवामा लाग्ने शुल्कमा परिवर्तन गरेको छ ।दूतावासले जारी गरेको सूचनाअनुसार स्थानीय मुद्रा थाई भाटमा लिने राजस्व दस्तुरमा विनिमय दरमा आएको परिवर्तन समायोजन गर्दै नयाँ शुल्क दर कायम गरिएको हो । संशोधित शुल्क मिति २०८२ पुस १७ गते आजदेखि लागू हुने सुचनामा उल्लेख छ । सूचनाअनुसार राहदानीसम्बन्धी सेवामा शुल्क घटाइएको छ ।
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता: प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले वार्ता सकारात्मक भएको बताएका छन् ।
सेमिफाइनलमा प्रवेश: नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज १ हजार ४ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ ।बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ ।

