प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
पूर्व मन्त्री गुप्तालाई थुनामा पठाउन आदेशः पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ । पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।
मूल्य घट्योः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो । जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ । यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने एक सय ३५ ले बढेर आएपनि यथावत् राखिएको जानकारी दिएको छ।
ईपीएस कोरिया शाखा अगाडि आन्दोलन: पीडित–केन्द्रित नीति लागूको माग गर्दै ईपीएस विद्यार्थीहरुले आन्दोलन गरेका छन् । बुधबार एउटै व्यक्तिलाई बारम्बार अवसर दिने प्रणाली अन्त्य गरी पीडित–केन्द्रित नीति लागू गर्न माग गर्दै ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन् । उनीहरुले इपीएस पास भइसकेका तर वर्षौंदेखि पर्खाइमा रहेका पीडितहरूको फाइल अनिवार्य रूपमा कम्तीमा १० पटकसम्म कम्पनीमा पठाइउनका लागि पनि माग गरेका छन् ।
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो: अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ ।
झलनाथ खनाल दम्पती भन्छन् : जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।
राष्ट्रिय भलिबल प्रतियोगिताः विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ ।
सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच एकीकरण: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ । यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो । पूर्व पञ्चहरूको यी दल आज एक भएका हुन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।

