Harsamaya
चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
मुक्तिनाथ मन्दिर ।

मुस्ताङ - अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । 

अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उनको भनाइ छ । अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् । 

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ । 

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update