Harsamaya
पुष १२ : बालुवाटार वार्ता देखि शेखर कोइरालाको चट्टानी अडान सम्म

अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन्: प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा आज नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरे । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिए । 

कोइरालाको चट्टानी अडान: नेपाली कांग्रेसका वरिष्ठ तथा प्रभावशाली एक मात्र नेता डा शेखर कोइरालाको चट्टानी अडानका कारण कांग्रेस बलियो र एकताको सूत्रमा आबद्ध भएको छ। नेता कोइरालाले पटक-पटक उठाउँदै आएको मुद्दाको दबाबले कांग्रेसको शिर्ष नेतृत्व झुक्न बाध्य भएको छ। कोइरालाले पटक-पटक पार्टीलाई एकताबद्ध बनाउन आवाज उठाउँदै आएका थिए। कोइरालाले विगत देखिनै पार्टीले विभिन्न नाममा कारबाही गरेका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्नुपर्ने भन्दै आएका थिए ।

सवा नौ लाख मतदाता थपिए: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ।प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष,  ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ।

चिया उद्योगी चिन्तित : सरकारले नेपाली चियाको निर्यात प्रवद्र्धनका लागि दिँदै आएको निर्यात नगद प्रोत्साहन कार्यक्रमलाई रोक्ने भएपछि चिया उत्पादक तथा व्यवसायीहरु चिन्तित भएका छन् । त्यसकारण व्यवसायीहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र श्रम रोजगार तथा आपुर्ति मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेका छन् ।

 वीरगञ्ज महानगरमा दुई दिन बिदा: वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै दुई दिन बिदा दिएको जानकारी दिए।

महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई: धादिङबेशी मा सम्पन्न ‘स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक धादिङ टिम ‘ए’ ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धादिङ टिम ‘ए’ ले सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गर्‍यो।

७१ प्रतिशत नसर्ने रोगका बिरामी:  नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update