Harsamaya
बागमती प्रदेश स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई
विजयी टोली

काठमाडौं- धादिङबेशी मा सम्पन्न ‘स्वर्गीय मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक धादिङ टिम ‘ए’ ले जितेको छ।

शनिबार भएको फाइनल खेलमा धादिङ टिम ‘ए’ ले सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गर्‍यो।

उपाधिसँगै धादिङ टिम ‘ए’ ले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सिन्धुपाल्चोकले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो। तेस्रो स्थान हासिल गरेको रामेछापले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई ३–२ को कडा प्रतिस्पर्धात्मक सेटमा पराजित गर्‍यो। रामेछापले नुवाकोटलाई २३–२५, २५–१०, २३–२५, २५–८ र १९–१७ ले हराएको हो।

प्रतियोगितामा धादिङ टिम ‘ए’ की रेविका लामा तामाङ उत्कृष्ट खेलाडी घोषित भइन्। उत्कृष्ट स्पाइकरमा सलिना गुरुङ, उत्कृष्ट सेटरमा भावना तामाङ, उत्कृष्ट डिफेन्डरमा जमुना गुरुङ (सबै धादिङ टिम ‘ए’), उत्कृष्ट सर्भरमा रामेछापकी एलिसा श्रेष्ठ र उत्कृष्ट कोचमा धादिङका बिरु लामा घोषित भए।

उत्कृष्ट खेलाडी रेविकाले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् भने अन्य विधाका उत्कृष्ट खेलाडी तथा कोचले समान २–२ हजार रुपैयाँ नगदसहित ट्रफी पाए।

धादिङ जिल्ला भलिबल संघको आयोजनामा पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाबाट ९ टिम सहभागी थिए। प्रतियोगितामा धादिङका दुई टिमसहित नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकका टिम सहभागी थिए।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update