नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रोल्पाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम एक नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको छ । पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बंगलादेश बन्ने हो कि भन्ने चिन्ता: प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् । बाह्खरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुकोबीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् । प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।
बालेनको राजनीतिक दौडः काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् । बिहीबार कुपन्डोल पुगेका सुनारले पत्रकारहरुसँग बोल्दै आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख देखिन नहुने कुरामा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट रहेको बताए । उनले भने, ‘आउँदै गरेको चुनावमा केपी ओलीको मुख र काङ्ग्रेसको रुख कतै देखिनु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौं आज पनि स्पष्ट छौ ।’
आन्दोलनमा उत्रिने चेतावनी: मधेश प्रदेशमा रहेका शहीद परिवारका सदस्यहरुले सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मलेन गर्दै मधेशी शहीद प्रतिष्ठानका सदस्यहरुले सरकारले आफूहरुलाई हदै सम्मको बेवास्ता गरेको भन्दै एक हप्ता पछि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शहीदको नाममा नेता र मन्त्री बनेकाहरुले संघियता ल्याउन आफ्नो बलिदानी दिएका शहीद र उनीहरुको परिवारका सदस्यहरुलाई झुक्काउन मात्र खोजेको मधेशी शहीद प्रतिष्ठानका सदस्य एवम सहिद चंदिन पटेलका पिता अवदेश पटेलले बताए ।
बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन: सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो ।
नाम एकल सिफारिस: नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो।पार्टीले निर्वाचन क्षेत्र -१ बाट आगामी निर्वाचनका लागि माधव सापकोटा 'सुबोध' को एकल नाम सिफारिस गरेको छ। पार्टीको आज खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारिस गरेको हो ।
सुनचाँदीको मूल्य घट्यो: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग: नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ । दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था र पार्टीका अग्रज नेताहरूको निधनप्रति केन्द्रित हुँदै दुई महत्वपूर्ण निर्णय गरेको छ । बैठकले देशमा उत्पन्न राजनीतिक विषम परिस्थितिका कारण प्रतिनिधिसभा असंवैधानिक ढंगबाट विघटन भएको उल्लेख गर्दै, संघीय संसदअन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको अवस्थामा जनताका आवाज उठाउन राष्ट्रिय सभाको बैठक अत्यावश्यक भएको ठहर गरेको छ ।

