जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसममा उल्लेख्य सुधार नहुने जनाएको छ । तराईका धेरै ठाउँहरूमा हुस्सु/कुहिरो लागेको र त्यो आगामी तीन दिनमा समेत उल्लेख्य सुधार नहुने सम्भावना रहेको जनाएको हो । आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सरकार र शिर्ष नेताबिच आइसब्रेकः फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
पूर्वउपप्रधानमन्त्री मण्डलको निधन: पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर-९ स्थित आफ्नै निवासीमा मण्डलको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको हो । परिवारिको अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए ।
आयोगले खारेज गर्यो यी ६ राजनीतिक दल: निर्वाचन आयोगले ८ पुसमा बसेको बैठकमा ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। आयोगले आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल लगायतका दलको दर्ता खारेज गरेको हो। यी दलहरूले कानुनले व्यवस्था गरेअनुसारको विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गरिएको आयोगले बताएको छ। ८ पुस, काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोले जनाएको छ ।
१० जिल्लाले सकेनन् क्रियाशील नवीकरण: नेपाली कांग्रेसमा करिब एक दर्जन जिल्लाले क्रियाशील नवीकरणको काम अझैसम्म सम्पन्न नगरेको पार्टीले जानकारी दिएको छ। पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नविकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्। चौधरीका अनुसार तोकिएको समयमा क्रियाशील नवीकरणको विवरण इन्ट्री नगर्ने जिल्लाहरूमा संखुवासभा, खोटाङ, महोत्तरी तथा बारा रहेका छन् । यस्तै दोलखा,प्यूठान, बर्दिया, कैलाली र कञ्चनपुरले पनि क्रियाशील नवीकरणको विवरण केन्द्रमा इन्ट्री गरेका छैनन्।
१९ अर्ब १३ करोडको स्मार्टफोन: पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् । गत आवको सोही अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।
आज काठमाडौं सबैभन्दा चिसो: पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौंको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौंको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ ।
लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् ।मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस्थामा रहेको बताए । साथै जेनजीको आन्दोलनमा नेपाली अनुहार नै थियो की अरु केही थियो भन्नेकुरा बुझ्न जरुरी रहेको धारणा राखे ।
बैङ्किङ क्षेत्र सुधार समितिको रिपोर्ट: बैंकिङ क्षेत्र सुधार समितिले राष्ट्र बैंकलाई केही समयअघि बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनले मर्जर भएकाभन्दा नभएका संस्थाको कार्य सम्पादन राम्रो देखिएको उल्लेख गरेको छ। प्रतिवेदनमा भनिएको छ, 'हाल मर्जर भएका भन्दा नभएका अधिकांश संस्थाहरूको समग्र कार्यसम्पादन राम्रो देखिन्छ।' प्रतिवेदनले मर्जर भएकाहरूमा पनि जसले सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणको बाहेक मानव संसाधन (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) को संयोजनमा ध्यान दिएका संस्थाहरू तुलनात्मक रूपमा सफल भएको पाइएको उल्लेख गरेको छ।
‘टाइगर कप’ भलिबल माघ ९ देखि: पर्यटकीय सहर पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज यहाँ पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको उक्त महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको बताए। उनले महिलातर्फ थाइल्याण्डका दुई तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्रिय टोली र भारत गुजरातको एक गरी चार विदेशी टोलीको सहभागिता रहने जानकारी दिए।

