Harsamaya
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसममा उल्लेख्य सुधार नहुने जनाएको छ । तराईका धेरै ठाउँहरूमा हुस्सु/कुहिरो लागेको र त्यो आगामी तीन दिनमा समेत उल्लेख्य सुधार नहुने सम्भावना रहेको जनाएको हो । 

आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

"देशको तराईका धेरै ठाउँहरूमा हुस्सु/कुहिरो लागेको छ । साथै, आगामी तीन दिनमा समेत उल्लेख्य सुधार हुने सम्भावना नरहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ," विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

विभागका अनुसार मंगलबार राति तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  

बुधबार (पुस ९) दिउँसो कोसी प्रदेशका तराई भू-भागमा मध्याह्नसम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

राति तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

बिहीबार (पुस १०) दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । 

राति देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । गण्डकी, कर्णाली, सुदूरपश्चिममा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update