राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ। सभापति लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार करिव आधा घण्टा देखि उनीहरू छलफलमा छन् । 'मिलेर जानुपर्छ जनताबाट अनुमोदन हुनुपर्छ भनेर रवि दाइ आफैले अप्रोच गरेर भेट्न जानुभएको हो,' सचिवालय स्रोतले हरसमयसँग भन्यो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
देउवा र ओलीबीच भेटवार्ता: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार देउवानिवास महाराजगञ्जमा भेटवार्ता भएको हो । दुई नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधिसभा पुनस्थापनाका लागि दुवै दल सर्वोच्च पुगेका छन् । भेटमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा र एमालेकf महासिचव शंकर पोखरले पनि सहभागी थिए ।
यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर: संसद् पुनःस्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरूलेनै हस्ताक्षर नगरेको पाइएको छ । नेपाली कांग्रेसले संसद् पुनः स्थापनाको माग सहित सर्वोच्चमा रिट दर्ता गराएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे तथा सचेतक सुशीला थिङ सहित ८ जनाको हस्ताक्षरमा रिट दर्ता गरिएको हो । अहिले कांग्रेसले पुरक निवेदन लैजाने तयारी गरिरहेको छ। जसमा ६८ जना कांग्रेस सांसद्ले हस्ताक्षर गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने: सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ।
प्रधानमन्त्रीको आग्रहः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आव्हान गरेकी छिन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले भनिन्, 'निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ ।
जाडो बढेसँगै रित्तिँदै ताप्लेजुङका हिमाली बस्ती: केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू भएका छन् । जाडो बढ्न थालेपछि स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिमाली बस्तीहरू खाली भएका हुन् । जिल्लाको मिक्वाखोला गाउँपालिका–५, तोक्पेगोला र लोदेनको माथिल्लो भेगमा बसोबास गर्ने सर्वसाधारण अहिले तलका (औलतिर) का बस्तीमा झेरका छन् । जाडो बढेसँगै पशुचौपायासहित यहाँका स्थानीयहरू औलतर्फ झर्ने गरेका तोक्पेगोलाका मिलनदोर्जी शेर्पाले बताए।
निर्यात व्यापारमा नेपालको छलाङ: पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो । चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको वस्तु निर्यात गरेको छ । गत आवको सोही अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।
‘आइपिओ’ जारी गर्दै सालपा विकास बैंक: सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो । संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ ।

