काठमाडौं - संसद् पुनःस्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसका शीर्ष नेताहरूलेनै हस्ताक्षर नगरेको पाइएको छ ।
नेपाली कांग्रेसले संसद् पुनः स्थापनाको माग सहित सर्वोच्चमा रिट दर्ता गराएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे तथा सचेतक सुशीला थिङ सहित ८ जनाको हस्ताक्षरमा रिट दर्ता गरिएको हो ।
अहिले कांग्रेसले पुरक निवेदन लैजाने तयारी गरिरहेको छ। जसमा ६८ जना कांग्रेस सांसद्ले हस्ताक्षर गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
यद्यपी कांग्रेसमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसद् पुनः स्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् । यस्तै उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङले पनि हस्ताक्षर गरेका छैनन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर नगरेको कांग्रेस स्रोतले बतायो ।
उनीहरू बाहेक नेता शेखर कोइराला निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि हस्ताक्षर गरेका छैनन् । विघटित प्रतिनिधिसभाका सांसदहरू हृदयराम थानी, तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सांसदहरू सञ्जय गौतम, कुसुम थापा मगरले पनि हस्ताक्षर गरेका छैनन् । सपना राजभण्डारी, लिला वोखिम, सीता मिजार, मुक्ता यादव, प्रतिमा गौतम, उदय शमशेर राणाले पनि हस्ताक्षर नगरेको कांग्रेस स्रोतले बतायो ।
‘समयको मागलाई सम्बोधन गर्दै मैले हस्ताक्षर गरिन्,’ हृदयराम थानीले भने । यस्तै सञ्जय गौतमले पनि अहिलेको निकासनै चुनाव भएकाले आफूले संसद् पुनःस्थापनाको पक्षमा हस्ताक्षर नगरेको जानकारी दिए।

