Harsamaya
लागुऔषधसहित सिरहाबाट २ जना पक्राउ
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं- सिरहाको गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक ओमप्रकाश पण्डितका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–४ बस्ने ३३ वर्षीय देवराज वली र सोही नगरपालिका–६ बस्ने ३१ वर्षीय सुशील अधिकारी रहेका छन् ।

प्रहरीले वलीलाई उनकै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा नौ ग्राम ९९० मिलिग्राम खैरो हेरोइनसहित फेला पारेको थियो । अर्का आरोपी सुशील अधिकारीलाई गोलबजार नगरपालिका–४ मा अवस्थित पिस ल्याण्ड होटलको कोठा नम्बर १०४ बाट एक ग्राम ५७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update