सर्लाही - सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १ किलो ८०० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित रामसिरिठलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।

