Harsamaya
मंसिर २७ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने राजमार्ग खुलाउने सहमति भएको छ ।आज स्थानीय, सडक डिभिजन कार्यालय,भोटेकोसी गाउँपालिका तथा सम्बन्धित अन्य निकायबिच भएको वार्ता सहमति भएपश्चात् राजमार्ग खुलाउने निर्णय भएको हो ।स्थानीय मजदुर, पर्यटन व्यवसायी, व्यापारी लगायतलाई बाटो बन्द हुँदा समस्या परेकाले राजमार्ग खुलाउने सहमति भएको हो । साथै कोदारी इको पहिरो नियन्त्रणका ६० दिनभित्र ठेक्का लगाइ काम अघि बढाउने पनि सहमति भएको छ । यस कार्यका लागि नेपाल सरकारबाट ५८ करोड ५९ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

एनपिएल दोस्रो संस्करणको उपाधि: लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जितेको छ ।कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो ।  उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो ।

एमाले जनताको मन–मनमा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघी बढीरहेको बताए । अध्यक्ष ओलीले भने, ‘हामी सपना त देख्छौं तर सपना मात्रै देख्दैनौं, सपना मात्रै बाड्दैनौं । प्रत्येक दिन यस यात्रामा एक पाइला अघी बढ्छौं । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तर उन्नतिका लागि भएका कामहरूले यसको पुष्टि गर्दछ । विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’

व्यापक संवाद आवश्यक: भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनपछि सामाजिक सद्भाव खलबलिन सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूले शान्ति र भ्रातृत्वको भावना जगाउन व्यापक संवाद आवश्यक रहेको बताएका छन् ।सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले ललितपुरमा आयोजना गरेको ‘सामाजिक सद्भाव र शान्तिका लागि पहल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले शान्ति, सामाजिक न्याय, सुशासन तथा युवा वर्गले भोगिरहेका चुनौतीहरूबारे आ–आफ्ना धारणा राखेका थिए ।द्वन्द्व तथा शान्तिविज्ञ डा. विष्णुप्रसाद उप्रेतीले कुनै पनि हिंसा वा द्वन्द्वपछिका मृत्यु, तोडफोड र आगजनीजस्ता घटनाले समाजमा व्यक्ति, समूह र समुदायबीच तिक्तता पैदा गर्ने उल्लेख गरे ।

पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु मै हुँ: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे । आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याउनु भएको योगदानको सधै उच्च कदर हुने बताए।

कसले के जिते पुरस्कार: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन् । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ रन बनाउनुका साथै १० विकेट पनि लिए ।यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए ।

दललाई चुनाव चिन्ह प्रदान: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो ।सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए । सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिन्ह कायम भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update