Harsamaya
जेन्जी आन्दोलनपछि सामाजिक सद्भावका लागि व्यापक संवाद आवश्यक
द्वन्द्व तथा शान्तिविज्ञ डा. विष्णुप्रसाद उप्रेती ।

काठमाडौं - भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनपछि सामाजिक सद्भाव खलबलिन सक्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाहरूले शान्ति र भ्रातृत्वको भावना जगाउन व्यापक संवाद आवश्यक रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले ललितपुरमा आयोजना गरेको ‘सामाजिक सद्भाव र शान्तिका लागि पहल’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले शान्ति, सामाजिक न्याय, सुशासन तथा युवा वर्गले भोगिरहेका चुनौतीहरूबारे आ–आफ्ना धारणा राखेका थिए ।

द्वन्द्व तथा शान्तिविज्ञ डा. विष्णुप्रसाद उप्रेतीले कुनै पनि हिंसा वा द्वन्द्वपछिका मृत्यु, तोडफोड र आगजनीजस्ता घटनाले समाजमा व्यक्ति, समूह र समुदायबीच तिक्तता पैदा गर्ने उल्लेख गरे । यस्तो अवस्थामा सामाजिक सद्भाव कायम राख्न निरन्तर संवाद अपरिहार्य हुने उनको भनाइ थियो ।

सद्भाव र शान्ति कुनै एक व्यक्ति वा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले शान्ति र सुशासन आपसमा अन्तरसम्बन्धित रहेको बताए । अवसर, पहुँच, मेलमिलाप, चेतना र नागरिक दायित्वबारे जानकारी दिँदै पूर्वाग्रहबिनै काम गर्नुपर्नेमा उनले जोड दिए ।

अधिकार माग्दै गर्दा नागरिकले आफ्नो कर्तव्यप्रति पनि सचेत हुनुपर्ने बताउँदै डा. उप्रेतीले शान्ति र सद्भाव कायम गर्न प्रत्येक व्यक्तिले आफ्नै स्थानबाट भूमिका खेल्नुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालयका द्वन्द्व, शान्ति तथा विकास विषयका एसोसियट प्राध्यापक चिरञ्जीवि भण्डारीले युवा र पाको पुस्ताबीच निरन्तर संवाद भएमा समाजमा सद्भाव कायम रहन सक्ने बताए । व्यक्ति र समस्या अलग हुन् भन्ने बुझाइले समाधान सहज हुने उल्लेख गर्दै उनले जेन–जी तथा नेताहरूले एक–अर्काको स्थानमा आफूलाई राखेर सोच्न सके शान्ति स्थापना सम्भव हुने धारणा राखे ।

राष्ट्रिय अपाङ्ग संघकी प्रतिनिधि सुप्रभा अर्यालले सामाजिक सद्भाव नै वास्तविक शान्ति भएको उल्लेख गर्दै समाज, विद्यालय तथा सार्वजनिक स्थलमा निर्धक्क बोल्न र बस्न पाउनु नै शान्तिको अनुभूति हुने बताए ।

यस्तै, सञ्चारकर्मी बालकृष्ण साहले नागरिकको जीविकोपार्जन सुनिश्चित नभएसम्म दिगो शान्ति सम्भव नहुने बताए । राज्यले आफ्नो दायित्व आत्मसात गर्दै प्रत्येक नागरिकका लागि गास, बास र कपासको व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।

कार्यक्रममा सहभागी बबिता घिमिरेले जेन्जी आन्दोलन देश परिवर्तनको उद्देश्यसहित भएको उल्लेख गर्दै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण भए असन्तुष्टि स्वतः घट्ने बताए ।

अर्की सहभागी सविता केसीले जेन्जी आन्दोलनका कारण युवामा मानसिक तनाव बढेको उल्लेख गर्दै युवाको उपस्थितिलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्ने र अल्पसङ्ख्यक समुदायलाई पनि उचित स्थान दिनुपर्नेमा जोड दिए ।

पत्रकार सन्तोषी रावलले शान्तिलाई दुई पक्षबीचको समन्वयको रूपमा बुझेर त्यसअनुसार संवादका कार्यक्रम अघि बढाउनुपर्ने बताए । यस्तै, अधिवक्ता गौतम शर्माले सरकारी कार्यालयको प्रक्रियागत ढिलासुस्तीले युवामा असन्तुष्टि बढाएको उल्लेख गर्दै कानुनको पालना सबैको कर्तव्य भएको र सरकारी कामकारबाहीमा सुधार आवश्यक रहेको धारणा राखे ।

कार्यक्रमको समापनमा सहभागी समिक्षा दाहालले आपसी सम्मान र संवादमार्फत सामाजिक सद्भाव कायम गर्न सकिने बताउँदै विवाद समाधानका लागि आफूमा रहेको सीप र क्षमताको प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update