Harsamaya
मंसिर २५ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्सः हर समय/harsamaya

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण  उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी मञ्च तयार गरिएको छ । मञ्चको दायाँबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएका छन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

प्रतिवेदन सरकार समक्ष पेस: जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

सम्झौता अनुमोदन: सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधवार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा: लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले तीन विकेट लिए । 

रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन: रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ ।कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।

दुःख हैरानी दिने ४६ जना पक्राउ: नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।

नेतृत्व एक पद होइन, कर्तव्य हो: नेकपा एमालेकी केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहेकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभई उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन्। क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठूलो उत्सवजस्तै भएको बरालको भनाइ छ । बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, संगठनलाई समन्वय, सहकार्य र सामूहिक नेतृत्वतर्फ लैजाने बाटो खोल्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update