Harsamaya
एनपीएलः विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त
खेल जितेपश्चात् लुम्बिनीका खेलाडी

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो ।

विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका पाँचमध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले तीन विकेट लिए । चार ओभरमा तिलकले ३.७५ को इकोनोमीसहित १५ रनमात्र खर्चिए । 

अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई विकेट लिए । शेर मल्लको नाममा एक विकेट रह्यो । विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गर्यो । लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन थपे । यी दुईले ८–१ को स्थितीबाट यी दुईले ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर, ११.२ ओभरमा ७७–२ को स्थितीबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितीमा पुगेको थियो ।

निरोसान डिकवेलाले २२ बलमा चार चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान एक रनमा पभेलियन फर्किए ।

विराटनगरका स्पिनर सुवास भण्डारीले तीन विकेट लिए । चार ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रनमात्र खर्चिए । चार ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिदै तीन विकेट लिए । कप्तान सन्दीप लामिछानले चार ओभरमा १८ रन खर्चिएर दुई विकेट लिए । 

गत सिजन पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको लुम्बिनीले अब दोस्रो संस्करणको उपाधिका निम्ति साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरविरुद्ध नै ७७ रनको जित निकाल्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update