काठमाडौं- रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)का लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशत अर्थात् ५७ हजार ७ सय ९८ कित्ता म्युचुअल फण्डको लागि छुट्याएको थियो । जसमा ९ लाख २४ हजार ७६८ कित्ताको लागि आवेदन परेको छ, जुन मागको १८ गुणा बढी हो ।
रिलायन्सले निष्काशन गरेको ५७ हजार ७ सय ९८ कित्ता शेयर प्राप्त गर्नका लागि सामूहिक लगानी कोषका ४५ वटा योजनाले आवेदन दिएका थिए । तीमध्ये ४१ योजनालाई शेयर वितरण गरिएको छ ।
४ करोड ७४ लाख ४० हजार ५९८ रकम आवश्यक भएकोमा ७५ करोड ९० लाख ४९ हजार ५७४ रूपैयाँ जम्मा भएको थियो । आवश्यकभन्दा बढी ७१ करोड १६ लाख ८ हजार ९७६ रूपैयाँ फिर्ता गनुपर्ने भएको छ ।
नेपाली पुँजी बजारमा म्युचुअल फण्डलाई दक्ष र अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने एक वित्तीय औजार मानिन्छ । रिलायन्सको शेयर खरिद गर्न पुँजी बजारबारे जानकार संस्थाहरूमा देखिएको आकर्षणले कम्पनीको मजबुत वित्तीय अवस्था, भविष्यप्रतिको भरोसा र विश्वास पुष्टि गरेको कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएकाका लागि निष्काशन गरेको आईपीओमा पनि झण्डै गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि सोमबार १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । निर्धारित अवधि (बिहीबार)सम्म ३६ हजार ८२ आवेदकले २० लाख १ हजार ४७० कित्ताको आवेदन परेको छ ।
नेपाली पुँजी बजारको इतिहासमा वैदेशिक रोजगारकर्ताहरूको आईपीओमा परेको यो सम्भवतः सबैभन्दा बढी आवेदन हो । रिलायन्सले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारकर्ताका लागि निष्काशन गरेको थियो।
निर्धारित अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने छैन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत् आवेदन दिन योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रूपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रूपैयाँ ८० पैसा कायम भएको हो ।

