विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख र भण्डारीलाई एक लाख धरौटी हुने आदेश गरेको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सुदूरपश्चिम फाइल प्रवेश: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रन हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको विराटनगरमा १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए । फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए ।
शेखर कोइरालाको नाम एकल सिफारिस: नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि एकल सिफारिस गरिएको छ । उनको नाम मोरङ क्षेत्र नम्बर ६ बाट सर्वसम्मत रुपमा एकल सिफारिस गरिएको हो । मंगलबार बसेको क्षेत्रीय समिति बैठकले केन्द्रीय सदस्य कोइरालाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो ।
क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो: नेपाली कांग्रेसको करिब साढे ७ लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला तहमा पुगेको छ । पार्टी कार्यालयले दिएको जानकारी अनुसार सुरूवातमा २५ प्रतिशत र अहिले ७५ प्रतिशत सदस्यता फारम जिल्ला तहमा पुगेको हो । कार्यालयले दिएको जानकारी अनुसार आजको दिनसम्म १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लान बाँकी छ । भोलिसम्म यो संख्या १० मा झर्ने कार्यालयले जानकारी दिएको छ। नेपाली कांग्रेसले गत असारको केन्द्रीय समिति निर्णयबाट क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील बाँड्ने निर्णय गरेको थियो।
लिङ्देनको टिप्पणी: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए । उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् ।
ठेक्का तोडियो: हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो ।
न्यायको जीत भयो: सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन् ।उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताए । शाक्यले भन्नुभयो, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।” उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्याए। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो ।

