Harsamaya
एनपीएल : सुदूरपश्चिम फाइनलमा प्रवेश‚ विराटनगर ७७ रनले पराजित
तस्वीरः एनपीएल आयोजना

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रन हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको विराटनगरमा १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए । फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए ।

मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा बनाउँदै पेभेलियन फर्किए । बसिर अहमदले १२ रन थपे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका लागि हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले समान दुई/दुई विकेट लिए । हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले उत्कृष्ट अर्धशतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान विनोदले ६३ रन बनाए । यसक्रममा उनले ५२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।

सुदूरपश्चिमका लागि सिल्डन ज्याक्सनले पनि २० रन बनाए । उनले ११ बलमा एक छक्का र दुई चौका प्रहार गरे । इशान पाण्डे १७ बलमा एक चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए । विराटनगर किङ्सका बलर प्रतिश जीसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिए । सूर्य तामाङ र साम हिजलेटले पनि एक–एक विकेट हात पारे ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update