Harsamaya
काँग्रेसको साढे सात लाख नयाँ क्रियाशील सदस्यता फारम जिल्ला पुग्यो
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको करिब साढे ७ लाख नयाँ  क्रियाशील सदस्यता फारम जिल्ला तहमा पुगेको छ । पार्टी कार्यालयले दिएको जानकारी अनुसार सुरूवातमा २५ प्रतिशत र अहिले ७५ प्रतिशत सदस्यता फारम जिल्ला तहमा पुगेको हो । 

कार्यालयले दिएको जानकारी अनुसार आजको दिनसम्म १६५ मध्ये १९ वटा निर्वाचन क्षेत्रले थप नयाँ फारम लान बाँकी छ । भोलिसम्म यो संख्या १० मा झर्ने कार्यालयले जानकारी दिएको छ। 

नेपाली कांग्रेसले गत असारको केन्द्रीय समिति निर्णयबाट क्रियाशील सदस्यताको अनुपातमा २५ प्रतिशत नयाँ क्रियाशील बाँड्ने निर्णय गरेको थियो। त्यस अनुसार केन्द्रीय कार्यालयले संस्था नवीकरण फारमसँगै हरेक निर्वाचन क्षेत्रमा २५ प्रतिशत बढाएर पठाइसकेको थियो। तर मङ्सिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयबाट निर्वाचन क्षेत्रमा रहेका क्रियाशील सदस्यको अनुपातमा शतप्रतिशत नयाँ सदस्यता बाँड्ने निर्णय भएपछि धमाधम नयाँ क्रियाशील सदस्यताको माग भइरहेको छ। केन्द्रीय कार्यालयमा निर्वाचन क्षेत्रले तोकेका प्रतिनिधिले फारम बुझेर लगिरहेका छन्। 

चितवन, झापा जस्ता धेरै क्रियाशील रहेका जिल्लाले नयाँ सदस्यता फार एकदमै कम लगेका छन्। पूर्वी नवलपरासीले भने नवीकरण फारमसँगै पठाएको २५% बाहेक नयाँ क्रियाशील सदस्यता फारम लगेको छैन।  

झापा ३ का सभापति गणेशप्रसाद पोखरेलका अनुसार विगतमा ल्याएका क्रियाशील वितरणको काम चलिरहेको छ। त्यसैले थप आवश्यक हुने नहुने क्षेत्रीय समितिको बैठकपछि मात्र निर्णय गर्ने उनले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update