Harsamaya
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं - तारकेश्‍वर नगरपालिका-६ जीतपुर फेदी डेरा गरी बस्ने नुवाकोट सूर्य गढी गाउँपालिका-२ घर भएका ४३ वर्षीय कुल बहादुर तामाङलाई अवैध लागू औषध खैरो हेरोइन २ सय २३ ग्राम र डिजिटल तराजु १ थान सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो ।   

यसै गरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागू औषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मङ्गलवार दिउँसो पक्राउ परेका छन् ।  थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागू औषध फेला पारी पक्राउ गरेको हो । 

यस्तै काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार चोकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज क्षेत्रीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   

यस्तै झापा गाउँपालिका-४ मंगलबारेबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-६ बस्ने ३० वर्षीय ओम नारायण राजवंशी र २९ वर्षीय मनोज राजवंशी रहेका छन् । प्रहरी चौकी टाघन डुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.४ प ४३४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहाबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिन पदार्थ करिब १ सय ९० मिलिग्राम सहित ३ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्की चुहा नगरपालिका-५ बस्ने २८ वर्षीय प्रकाश सुनार, कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय दिनेश पाल र २० वर्षीय भूपेन्द्र विष्ट रहेका छन् । अस्थायी प्रहरी पोस्ट विशाल नगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस्तै धरान उपमहानगरपालिका-१३ आँप गाछीबाट अवैध लागू औषध गाँजा करिब ८ किलो ४ सय ९५ ग्राम सहित  २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने २८ वर्षीय अर्जुन राई र धनकुटा सहिदभुमी गाउँपालिका-७ चिम्राहा बस्ने ३६ वर्षीय रोहन राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ना.१ ज ५६२९ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अर्जुन र सुमोमा सवार रोहनलाई पक्राउ गरेको हो । 

यसै गरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम सहित ४ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-५ बस्ने ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका-१८ बस्ने २० वर्षीय मोहम्मद साबिर, २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहम्मद असलम रहेका छन् । इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update