आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २१ गतेदेखि सुरु हुने भएको छ ।
निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरि मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए ।
उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने बित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरू गरेकोले केही ढिलो हुन गएको बताए ।
सर्वोच्चले दिएको परमादेशप्रति ओलीको असन्तुष्टि : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् ।
एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश संविधान विपरीत रहेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको भन्दै सर्वोच्चको आदेश संविधानसंग बाझिएको जिकिर गरे ।
गृहमन्त्री अर्यालले भने लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी छैन : गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् ।
धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे ।
प्लेअफ दौडबाट बाहिरियो कर्णाली : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पाँचौं खेलमा दोस्रो जित हासिल गरेको छ। आज भएको दोस्रो खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो। यो सँगै दोस्रो संस्करणमा लगातार चौथो हार बेहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिएको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १ सय ८ रनको शतकीय इनिङ्समा कर्णालीलाई २ सय २ रनको विशाल लक्ष्य दिएको थियो। ६ खेलमा १ मा मात्र जित निकालेको कर्णालीले अब अन्तिम खेल जिते पनि ४ अंक मात्र हुनेछ । अब उसका लागि अन्तिम खेल सान्त्वना मात्र हुनेछ । लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ।
कृष्ण सागरमा रूसी ट्यांकरमाथि फेरि आक्रमण : रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक ट्यांकरमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ । केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्यांकरलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो ।
टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्यांकर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ ।

