Harsamaya
गृहमन्त्री अर्यालले भने: लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी छैन
गृहमन्त्री ओमप्रकाश अर्याल ।

सुदूरपश्चिम - गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । 

धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे । 

जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए । 

उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । 

गृहमन्त्री अर्यालले कुशासन बेथितिका विरुद्ध जेनजी युवाहरुले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए । 

उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update