काठमाडौं - नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पाँचौं खेलमा दोस्रो जित हासिल गरेको छ। आज भएको दोस्रो खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो। यो सँगै दोस्रो संस्करणमा लगातार चौथो हार बेहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरिएको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १ सय ८ रनको शतकीय इनिङ्समा कर्णालीलाई २ सय २ रनको विशाल लक्ष्य दिएको थियो। ६ खेलमा १ मा मात्र जित निकालेको कर्णालीले अब अन्तिम खेल जिते पनि ४ अंक मात्र हुनेछ । अब उसका लागि अन्तिम खेल सान्त्वना मात्र हुनेछ । लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुर बोल्ट्सविरुद्ध खेल्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि ओपनर मार्क वाटले ५९ रनको सर्वाधिक योगदान दिए । नजिबुल्ला जड्रानले २४, पवन सर्राफले १९ र प्रियांक पञ्चलले १६ रन जोडे ।
पोखराका ऋषी धवन र धनन्जय लक्षणले तीन–तीन विकेट लिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान एक/एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले दुई विकेटको क्षतिमा १०१ रन बनाएको थियो । एडम रोसिङटन १०८ रनमा अविजित रहे । रोसिङटनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । धनन्जय लक्षण २३ रनमा नटआउट रहे ।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक/एक विकेट लिए ।

