काठमाडौं - ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।
राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । ‘वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,’ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।
ट्रम्पले बेक्स्ट्रोमको मृत्युप्रति दुःख व्यक्त गर्दै भने, ‘उहाँ अब हामीमध्ये छैनन । तर हामीलाई हेरिरहनुभएको छ ।’ घटनामा घाइते अर्का सैनिक २४ वर्षीय एन्ड्र्यु वोल्फ गम्भीर अवस्थामा रहेको र उसको जीवन बचाउन चिकित्सकहरू प्रयासरत रहेको पनि ट्रम्पले बताए । ‘उनी आफ्नो जीवनका लागि लडिरहेका छन्। हामी राम्रो समाचारको आशा गरिरहेका छौँ,’ ट्रम्पले भने ।
बुधबार भएको उक्त गोलीकाण्डलाई ट्रम्पले ‘भयानक आक्रमण’ र ‘आतङ्ककारी गतिविधि’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। संघीय निकायहरूले यसमा अनुसन्धान जारी राखेका छन् ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको आव्रजन नीतिलाई दोष दिए। उनका अनुसार २९ वर्षीय रहमानुल्लाह लकनवाल, अफगान नागरिक, सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए । सुरक्षा अधिकारीहरूले पनि लकनवाल अफगानिस्तानबाट आएको पुष्टि गरेका छन् र उनी एक्लैले आक्रमण गरेको विश्वास गरिएको छ ।
घटना ह्वाइट हाउसबाट केही दूरीमा रहेको क्षेत्रमा भएको हो, जसलाई अधिकारीहरूले जानाजान गरिएको हमला बताएका छन् ।

