आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
नेपालबाट कतार जाने जहाज उडेनन्: इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तालिका पाएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् । आज बिहान १०:०० बजे एउटा र ११:०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।
ईश्वर पोखरेलको उम्मेदवारी घोषणा: नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो । मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।
नेपालको पहिलो खेल इंग्ल्यान्डसँग: आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ । नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ ।
धरहरा सञ्चालनको एक वर्षमा: पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ । यस अवधिमा प्रवेश शुल्कबापत उक्त रकम असुली भएको हो । अघिल्लो वर्षको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो साँझसम्म टिकट बिक्रीबापत रु सात करोड ७१ लाख सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । जेनजी आन्दोलनअघिसम्म प्रत्येक बुधबार बन्द हुने धरहरा अहिले हप्ताको सातै दिन सञ्चालन हुने गरेको छ ।
जिप खरिद गर्दै बागमती सरकार: मुलुक गम्भीर आर्थिक संकट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जिप’खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछुट्टै सूचनाबाट उक्त खरिद प्रक्रिया औपचारिक रुपमा अघि बढाएको सार्वजनिक सूचनामा उल्लेख छ । प्रदेश सरकारले कात्तिक २ गते जारी गरेको पहिलो सूचनामा १ करोड १४ लाख ४० हजार ४ सय ८० रुपैयाँ भ्याटसहित अनुमानित लागतमा जीप खरिदका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरिएको छ।
जेनजी समूहका मिराज ढुंगानालगायतलाई प्रहरीले लखेट्यो: सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।

