काठमाडौं - इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखी असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तालिका पाएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन् ।
आज बिहान १०:०० बजे एउटा र ११:०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।
“ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २:०० बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन‚” उनले भने ।
यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले बताए ।
कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा सयौँ यात्रुहरू मारमा परेका छन् । हाल सयौँ यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रहेका छन् ।

