भोजपुर - तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा विसं १८७२ मा स्थापना भएको नेपालको एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजारका धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणको पर्खाइमा छन् ।
टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक महत्वका स्थल छन् । यहाँ ऐतिहासिक शाक्यमुनि बौद्ध विहार, राम मन्दिर, मच्छिन्द्रनाथ मन्दिर, शिव मन्दिर, हनुमान मन्दिर, गणेश मन्दिरलगायत दर्जनौँ मठमन्दिर तथा विहार छन् । संरक्षण र रेखदेखको अभावमा यहाँका मठमन्दिरमा पूजाआजा गर्ने तीर्थालु भक्तजनको समेत कमी आउँदै गएको स्थानीय घमचन्द्र दाहालले बताए ।
पाटनमा रहेका मठमन्दिरसरह महत्व बोकेका यहाँका सम्पदाको जीर्णोद्धार आवश्यक रहेको अर्का स्थानीय सानुकाजी शाक्यको भनाइ छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिर स्थानीयको बसाइँसराइ र संरक्षणको अभावका कारण जीर्ण बन्दै गएका छन् । सरोकारवाला निकायले ध्यान नदिनु र स्थानीयमा समेत बसाइँसराइको लहर बढ्दै जानुले टक्सारका सम्पदा थप ओझेलमा परेको शाक्य बताउँछन् । टक्सारलाई ‘दोस्रो मिनी पाटन’का रूपमा पनि चिनिन्छ।
टक्सारमा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट पनि सहयोग हुनुपर्ने स्थानीयवासीको माग छ । इतिहास बोकेको टक्सारलाई पुनः पहिलेकै अवस्थामा फर्काउन गुरुयोजना निर्माण गरिनुपर्ने स्थानीय किशोर ताम्राकारको धारणा छ । उनले टक्सारको प्रचारप्रसारका लागि यहाँ भोजपुर सङ्ग्रहालयसमेत स्थापना गरिएको बताए ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वसँग जोडिएका यहाँका मठमन्दिरको दुर्दशाप्रति सम्बन्धित स्थानीय सरोकारवाला निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। टक्सारका ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीयवासी मात्र नभई स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले समेत ध्यान दिनु जरुरी रहेको यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईको भनाइ छ । - निरोज कोइराला

