काठमाडौं - नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।
‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्लेख छ ।
पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन् ।
‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
पोखरेलले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा विवेक पुर्याउन पनि आह्वान गरेका छन् ।

