Harsamaya
जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
प्रतिकात्मक तस्वीर ।

गण्डकी - कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।

किटानी जाहेरीका आधारमा हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो । आगजनी, तोडफोड र लुटपाटका घटनामा सरकारी निकायबाट २३ र निजीतर्फबाट आठवटा जाहेरी परेको सूचना अधिकारी बस्नेतले जानकारी दिए । 

‘सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा आगजनी र लुटपाट गर्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने काम भइरहेको छ’, उनले भने, ‘आपराधिक गतिविधिमा संलग्नको पहिचानमा सहयोग गर्न सबैमा आग्रह पनि गरिएको छ ।’

कास्की प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको हो ।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना बस्नेतले बताए । आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ ।

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै रु पाँच अर्बबराबरको क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update