Harsamaya
प्रवासी श्रमिकहरूलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन काँग्रेसको माग

काठमाडौं - नेपाल ट्रेड युनियन काँग्रेसले स्वदेश तथा विदेशमा रहेका  श्रमिकहरूलाई आगामी निर्वाचनमा कार्य थलोबाट मतदानमा व्यवस्था गर्न माग गरेको छ । सोमबार निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै ट्रेड युनियन काँग्रेसले चार बुँदे माग अघि सारेको हो ।

संविधानको धारा ४२(१) मा भएको व्यवस्था अनुरूप युवा, किसान श्रमिकहरूलाई पनि समानुपातिक सिद्धान्तका आधारमा राज्यको संसद लगायतका निकायहरूमा प्रतिनिधित्वका लागि बेग्लै क्लष्टर बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनु पर्ने लगायतको मागसहित ज्ञापन पत्र बुझाइएको अध्यक्ष योगेन्द्र कुँवरले जानकारी दिए ।

सो अवसरमा कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचनको प्रक्रियाहरूको कार्य सम्पादन गर्ने बताए ।

महासंघका अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मुल मर्म अनुसार अन्य वर्गहरू क्लष्टरमा समावेश गरिएझैँ श्रमिकहरू पनि समेटिनुपर्ने आफ्नो लामो समयदेखिको मुद्दा रहेको सुनाए ।

सो अवसरमा महासंघको ज्ञापन पत्र वाचन गर्दै महासचिव अजय कुमार राईले दलहरूले चाहे जस्तो मुलुकलाई समृद्ध बनाउन आर्थिक , सामाजिक र राजनीतिक रूपान्तरण गर्न महासंघले उठाएको मुद्दाहरूलाई आयोगले सम्बोधन गर्नुपर्ने बताए ।

अध्यक्ष कुँवरको नेतृत्वमा गएको टोलीमा महासंघका पूर्वअध्यक्ष तथा सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेत, वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, उपाध्यक्ष गणेश केसी, उपमहासचिव बलदेव तामाङ र सुशीला घिमिरे सहभागी थिए ।   

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update