नवलपरासी - देवचुली नगरपालिका–१६ टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्ड निर्माण परियोजनाअन्तर्गतको चिनियाँ कम्पनीको परिसरमा ट्र्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ।
लु.२ त ६८११ नम्बरको ट्र्याक्टरको ट्रलीमा कम्पनीको ब्लक लोड गरिएको थियो। ट्रलीको पछाडिपट्टि बसेकी देवचुली नगरपालिका–४ की करिब ४० वर्षीया मनकुमारी सोती मगर ट्रली पल्टिँदा त्यसको ढालाले च्यापिएकी थिइन्।
ट्रलीले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त भएपछि प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रली उठाएर शव निकालेको जनाएको छ।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको छ भने शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

