Harsamaya

ललितपुर - लगातारको वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुईतले घर चिप्लिएर खोलामा खसेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार सोवितकुमार थापाको तीन आना क्षेत्रफलमा बनेको घर आज बिहान चिप्लिएर खोलामा पुगेको हो। घटनामा मानवीय क्षति भने भएको छैन।

घर जोखिममा रहेको देखिएपछि आइतबार नै परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिनुका साथै घरभित्रका सामानसमेत निकालिएको थियो। आइतबार दिउँसो घरसँगै जोडिएको ट्रसको भान्साघर करिब २० मिटर तल खसेपछि घर जोखिममा परेको थियो।

घर चिप्लिएर खोलामा खसेपछि थुनिएको खोला खुलाउन तथा थप जोखिम न्यूनीकरणका लागि प्रहरी टोली परिचालन गरिएको छ। घर पल्टिएपछि नजिकै पश्चिमतर्फ रहेको अमृता सुनुवारको घरसमेत जोखिममा परेकाले खाली गराइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update