चितवन - चार दिनदेखि परेको निरन्तर वर्षापछि नारायणी नदीमा आएको बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिप निकाल्ने तयारी गरिएको छ।
नारायणी पुलको गैँडाकोटतर्फको छेउमा अड्किएको क्रुजसिप यसअघि नदी किनारको रुखमा बाँधेर राखिएको थियो। सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार क्रुजसिप पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएको अवस्थामा छ।
नदीमा बाढी आइरहेकाले पुलमा जोखिम हुनसक्ने भन्दै आइतबार साँझदेखि नै क्रुजसिप हटाउने प्रक्रिया अघि बढाइएको हो। त्यसका लागि तीन वटा क्रेन झिकाइएको छ।
क्रुजसिप करिब ६० टन भारको भएकाले सिंगै तान्न सम्भव नहुने भएपछि काटेर निकालिने इन्जिनियर घिमिरेले जानकारी दिए।
यसअघि उक्त क्रुजसिप नारायणी नदीमा पर्यटकलाई जलयात्रा गराउन प्रयोग हुँदै आएको थियो। क्रुजसिप पुलमा अड्किएर पानीको बहाव रोकिँदा जोखिम बढेपछि प्रशासनले आइतबार साँझदेखि पुलमा ठूला भारवहन सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

