Harsamaya
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ।

काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै थप सुरक्षा व्यवस्था गरिदिन प्रहरीसँग माग गरेका छन्।

राणाका छोरा सचिवन्द्रशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै राणाको जिउज्यान तथा परिवारको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गरेका हुन्।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ। राणाले विगतमा राज्यका विभिन्न अंगमा वहन गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयका कारण थप असुरक्षा महसुस भएको निवेदनमा जनाइएको छ।

‘कतिपय कुराहरू हालका दिनमा यस कार्यालयमा आएपछि पनि जानकारी पाएँ,’ निवेदनमा भनिएको छ, ‘यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।’

राणाले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै निवास, परिवार तथा आफ्नो जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पु¥याउन आग्रह गरेका छन्।

यसअघि आइतबार प्रहरीले राणालाई सुरक्षा खतरा रहेको भन्दै महाराजगञ्जस्थित निवासबाट टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। करिब १२ घण्टा कार्यालयमा राखिएपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो। प्रहरीले राणामाथि कुनै मुद्दा नचलाइएको र सुरक्षा व्यवस्थाका लागि उनलाई सुरक्षित स्थानमा लगिएको जनाएको थियो।

राणालाई हाल निवासमै थप सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update