सिन्धुली - सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार यही कात्तिक १७ गते दिउँसो १२ बजे घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो ।
कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीको टोलीले खोजतलास गर्दा घाँटीमा सलले बेरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदील जानकारी दिए ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार घटनामा संलग्न भएको आरोपमा सुरज भन्ने सूर्यबहादुर कामीलाई दाङको लमही नगरपालिका-५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो भने निरन भनिने टङ्कबहादुर कामीलाई दुधौली नगरपालिका-९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
मृतक छत्रकुमारीको मोबाइल फोन प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले ‘घाँटी थिची’ गरिएको देखिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

